काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सीमा नाका, जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा पूर्वसूचनाबिनै छड्के अनुगमनलाई तीव्र बनाएका छन् ।
तस्करी नियन्त्रण, सीमा सुरक्षाको अवस्था बुझ्न र सरकारी सेवा प्रवाहको प्रभावकारिता मूल्यांकन गर्न उनी विभिन्न जिल्लामा स्थलगत निरीक्षणमा सक्रिय छन् ।
पछिल्लो पटक उनले धनकुटा र झापाको काँकडभिट्टा सीमा नाकाको निरीक्षण गर्दै सुरक्षा अवस्था र सेवा प्रवाहबारे जानकारी लिए ।
यसअघि पर्सा–बाराको सीमा क्षेत्रमा पनि गोप्य रूपमा अनुगमन गर्दै स्थानीयसँग तस्करीका समस्या र सुरक्षा निकायको भूमिकाबारे प्रत्यक्ष छलफल गरेका थिए ।
अनुगमनपछि गृहमन्त्रीले सहायक नाकाबाट हुने तस्करी नियन्त्रणमा विशेष ध्यान दिन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
स्थानीयले उठाएका गुनासा र स्थलगत अनुगमनका आधारमा सीमा सुरक्षा तथा सार्वजनिक सेवा सुधारलाई सरकारले प्राथमिकतामा राखेको संकेत देखिएको छ ।






















