images
images
  • सांसद पद पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट

    काठमाडौ। नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

    टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको बताउँदै  पुनर्बहाली गर्न रिट दायर गरेका हुन् ।

    संसद सचिवालयले आफूहरुलाई सांसद पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको भन्दै उनीहरुले अदालतमा रिट दायर गरेका हुन् ।

    यसैबीच सर्वोच्च अदालतले रिटमाथिको सुनुवाइका लागि बिहीबारका लागि पेसी समेत तोकेको छ ।

    उनीहरूले निर्वाचन आयोगको विवरणमा एमालेको सदस्यका रूपमा आफूहरूको नाम नरहेको र एमालेको कति नम्बर सदस्य भनेर आफूहरूलाई कारबाही गर्ने पक्षले देखाउन पनि नसकेको भन्दै सफाइको मौकासमेत नदिएर गरिएको कारबाही उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरेका छन् ।

    फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि उनीहरु माओवादी छाडेर एमाले प्रवेश गरेका थिए ।

    त्यसपछि माओवादी केन्द्रले उनीहरुलाई कारबाही गर्दै सांसदबाट पदमुक्त गर्न स‌ंसद सचिवालयलाई पत्र पठाएको थियो । माओवादी केन्द्रको पत्रको आधारमा सभामुख अग्निप्रसाद सापकोटाले चारै जनाको सा‌ंसद पद रिक्त भएको जानकारी दिएका थिए ।

    सांसद पदबाट मुक्त भएको तीन महिनापछि उनीहरुले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् । चार पूर्वमाओवादी नेताले आफूहरु नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्रका आधारमा दुबै दलका मतदाताको मतले विजयी भएको भन्दै आफूहरुले जनताको प्रतिनिधित्व गर्न पाउने अधिकार कुण्ठित गर्न नपाउने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images