images
images
  • संकटमा मुख्यमन्त्री बानियाँ, आफनै दलको असहयोग

    काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ आगामी आर्थिक वर्ष २०८३/ ८४ को ६६ अर्ब ९३ करोड रुपैयाँको बजेट आफ्नै दलका सांसदको विरोधका कारण संकटमा परेको छ। नेपाली कांग्रेसभित्र पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा पक्षका सांसदहरूले बजेटलाई असन्तुलित, वितरणमुखी र निर्देशिकाविपरीत रहेको आरोप लगाउँदै प्रदेशसभा बैठक बहिष्कार गरेका छन् ।

    असन्तुष्ट सांसदहरूले कांग्रेस नेता गगनकुमार थापासँग भेटेर मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको कार्यशैली, बजेट निर्माण प्रक्रिया तथा बिचौलियाको प्रभावबारे गुनासो गरेका छन् । उनीहरूले बजेट सच्याएपछि मात्रै बैठकमा सहभागी हुने अडान लिएका छन् ।

    सत्ता साझेदार नेकपा एमालेका केही सांसदले पनि बजेटमा व्यक्ति र क्षेत्र विशेषलाई प्राथमिकता दिएको भन्दै असन्तुष्टि जनाएका छन् । लगातार सांसदहरुको घट्दो उपस्थितिका कारण प्रदेशसभामा बजेट पारित हुने सम्भावना कमजोर बनेको छ।

    १०४ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५३ मत आवश्यक पर्ने भए पनि कांग्रेसभित्रको आन्तरिक विवाद समाधान नभए मुख्यमन्त्री बानियाँ विपक्षी दलको समर्थन खोज्न बाध्य हुन सक्ने संकेत देखिएको छ । शुक्रबारका लागि तय गरिएको बजेट छलफलसमेत सांसदहरूको अनुपस्थितिका कारण प्रभावित हुने सम्भावना रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images