काठमाडौं- गुल्मीको रेसुङ्गा विमानस्थलबाट हुने हवाई उडान तीन सातादेखि नियमित हुन सकेको छैन ।
नेपाल एयरलाइन्सको अनुसार गत जेठ २४ गते यता बाक्लो बादल र खराब मौसमका कारण नियमित उडान सञ्चालन हुन नसकेको हो ।
रेसुङ्गा–काठमाडौं रुटमा साताको तीन दिन– आइतबार, मंगलबार र बिहीबार उडान हुदै आएको हो । तर वर्षायामको कारण मौसम खराब हुन्न थालेपछि उडान प्रभावित भइरहेको छ ।
हाल गुल्मीबाट काठमाडौंका लागि प्रतियात्री १० हजार ७०२ रुपैयाँ र काठमाडौंबाट गुल्मीका लागि १० हजार ९०२ रुपैयाँ हवाई भाडा निर्धारण गरिएको छ । उडान तालिकाअनुसार विमान काठमाडौंबाट बिहान ६ः३० बजे उड्ने र रेसुङ्गाबाट बिहान ७ः४५ बजे काठमाडौंका लागि प्रस्थान गर्ने तालिका रहेको छ ।
रेसुङ्गामा विमानस्थल सञ्चालनमा आएपछि गुल्मीवासीको हवाई पहुँच विस्तार भएको हो । हवाई पहुँच पछि धार्मिक ऐतिहासिक तथा पर्यटकीय गन्तव्यमा पुग्ने आन्तरिक तथा विदेशी पर्यटकको आवागमन बढाउन सहयोग पुगेको हो ।























