images
images
  • नागढुंगा सुरुङमार्ग साउनदेखि सञ्चालनमा आउने तयारी

    काठमाडौं- नेपालको पहिलो सडक सुरुङमार्ग (नागढुंगा सुरुङमार्ग) आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । परियोजनाअन्तर्गत आवश्यक अधिकांश निर्माण कार्य सम्पन्न भइसकेको छ भने सञ्चालनअघि गरिने प्राविधिक तथा सुरक्षा परीक्षण अन्तिम चरणमा रहेको आयोजनाले जनाएको छ ।

    परियोजनाअनुसार सुरुङभित्र प्रयोग हुने मर्मतसम्भार, आपत्कालीन उद्धार तथा सञ्चालनसम्बन्धी सवारीसाधनको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । अहिले भेन्टिलेसन, विद्युत् आपूर्ति, अग्नि नियन्त्रण, सिसिटिभी निगरानी, सञ्चार प्रणाली तथा नियन्त्रण कक्षलगायत सुरक्षा प्रणालीको अन्तिम परीक्षण भइरहेको छ ।

    २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको यो आयोजना नेपाल सरकार र जापान सरकारको सहकार्यमा निर्माण गरिएको हो । करिब २२ अर्ब रुपैयाँ लागतको परियोजनामा २.६८ किलोमिटर लामो मुख्य सुरुङ र छुट्टै आपत्कालीन सुरुङ निर्माण गरिएको छ ।

    कोभिड–१९ महामारी, जग्गा अधिग्रहण र प्राविधिक चुनौतीका कारण केही ढिलो भएको आयोजना अब सञ्चालनको अन्तिम तयारीमा पुगेको हो ।

    सुरुङ सञ्चालनमा आएपछि काठमाडौं–नौबिसे सडकखण्डको ट्राफिक जाम उल्लेखनीय रूपमा घट्ने, यात्रा समय छोटिने, इन्धन बचत हुने र मालवाहक सवारीको आवागमन सहज हुने अपेक्षा गरिएको छ । नेपालको पूर्वाधार विकासमा यो आयोजना ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images