काठमाडौं- तनहुँको बन्दीपुर गाउँपालिका–४, टुँडीखेल, बन्दीपुर बजार निवासी २८ वर्षीया सन्तोषी श्रेष्ठ तिन दिनदेखि सम्पर्कविहीन रहेकी छन् । उनको खोजीका लागि नेपाल प्रहरी, स्थानीयवासी र परिवारजनले संयुक्त रूपमा खोजी कार्यलाई तीव्र बनाएका छन् । यद्यपि समाचार तयार पार्दासम्म उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन ।
परिवारका अनुसार सन्तोषी गत आइतबार साँझदेखि सम्पर्कबाहिर रहेकी हुन् । उनले प्रयोग गर्दै आएको बा.प्र.०६–००१ प १४९९ नम्बरको स्कुटर तनहुँ–चितवन सीमास्थित देवघाटको हनुमानचोक क्षेत्रमा पार्किङ गरिएको अवस्थामा फेला परेको थियो। स्कुटर भेटिएपछि उनी हराइरहेको पुष्टि भएको परिवारले जनाएको छ।
परिवारका अनुसार सन्तोषीको मोबाइल फोन बन्द रहेको छ । सन्तोषीका बुबा कृष्णकुमार श्रेष्ठ र आमा ईश्वरी श्रेष्ठ सहित परिवारका सदस्यहरू सम्भावित स्थानहरूमा पुगेर निरन्तर खोजीमा जुटेका छन् । छोरीको अवस्थाबारे कुनै जानकारी नपाउँदा परिवार गहिरो चिन्ता र मानसिक तनावमा रहेको छ ।
प्रहरीले घटनालाई गम्भीर रूपमा लिँदै खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।























