काठमाडौं– अमेरिकाको क्यालिफोर्नियास्थित एडवर्ड्स एयरफोर्स बेसमा बी–५२ बम्बर विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार आठ जनाको मृत्यु भएको बताइएको छ ।
अमेरिकी वायुसेनालाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमहरूले जनाएअनुसार नियमित परीक्षण उडानका क्रममा विमान दुर्घटनामा परेको हो ।
स्थानीय समयअनुसार बिहान करिब ११ः२० बजे उडान भरेको केही समयमै विमान खसेर आगलागी भएको बताइएको छ ।
दुर्घटनामा वायुसेनाका सदस्य तथा परीक्षण कार्यमा संलग्न प्राविधिक विज्ञहरूको ज्यान गएको जनाइएको छ ।
यद्यपि दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन् ।
प्रारम्भिक अनुमानअनुसार विमानको नियन्त्रण प्रणाली, इन्जिन वा परीक्षणका क्रममा प्रयोग गरिएका उपकरणमा प्राविधिक समस्या उत्पन्न भएको हुनसक्ने आशंका गरिएको छ ।
तर यसबारे आधिकारिक निष्कर्ष सार्वजनिक भइसकेको छैन ।
दुर्घटनाग्रस्त विमानमा हतियार थियो वा थिएन भन्ने विषयमा अमेरिकी अधिकारीहरूले कुनै जानकारी दिएका छैनन् ।
घटनापछि एडवर्ड्स एयरफोर्स बेसको उडान सेवा अस्थायी रूपमा बन्द गरिएको थियो भने त्यहाँ अवतरण गर्ने अन्य विमानलाई वैकल्पिक एयरबेसतर्फ मोडिएको बताइएको छ ।
घटनाबारे विस्तृत अनुसन्धान भइरहेको अमेरिकी वायुसेनाले जनाएको छ ।
यद्यपि यस घटनामा इरानको कुनै संलग्नता छैन ।


विश्व खबर 

















