काठमाडौ – नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ ।
कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४ औँ महाधिवेशन प्रयोजनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशिल सदस्यता प्रदान गरेको हो ।
क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले आज पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बुझाएको प्रतिवेदनमा चार लाख ४३ हजार ६७८ नयाँ र चार लाख नौ हजार ३३ ले नवीकरण गरेका हुन् ।
जसमध्ये पुरुष ६ लाख ५३ हजार ४३८, महिला एक लाख ९९ हजार ९७ र अन्य १७६ जना रहेका छन् ।
क्रियाशील सदस्यता छानबिन समितिमा ४६ खाले उजूरी तथा गुनासो प्राप्त भएको थियो । नवीकरणतर्फ ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुङ्गो लगाएको समितिले नयाँ क्रियाशील सदस्यता नामावलीलाई आगामी १४औँ महाधिवेशनका लागि स्थगन गरी उक्त महाधिवेशनपछि प्रक्रिया पु¥याएर कायम गर्ने प्रतिवेदनमा उल्लेख छ ।
कांग्रेसले पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा प्रदीप पौडेल, आनन्द ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी सदस्य रहेको छानबिन समिति गठन गरेको थियो ।
क्रियाशील सदस्यता नामावली टुङ्गिएसँगै अब पार्टीको १४औँ महाधिवेशनको प्रक्रियासमेत शुरु हुने भएको छ । शनिबार पार्टी सभापति एवं प्रधानमन्त्री देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यता छानबिनको काम नसकिएको भन्दै साउन १२ गते अर्थात् (आजदेखि०) शुरु हुने पार्टीको तल्लो तहको अधिवेशन स्थगित गर्ने निर्णय गरेको थियो ।
सो बैठकले पार्टीको केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ का बारेमा भने केही निर्णय गरेको थिएन । पार्टीको आज पनि पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक सभापति देउवाको निजी निवासमा बसेको थियो । बैठकले क्रियाशील सदस्यता छानबिन समितिले दिएको प्रतिवेदन अध्ययन गरी अधिवेशनको नयाँ कार्यतालिका टुंगो लगाउने छ ।
विवाद भएका केही जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका क्रियाशील अझै टुंगिएका छैनन्। यो टुंगिएपछि क्रियाशीलको संख्या झन्डै एक लाख थपिनेछ।
१४ औं महाधिवेशन गर्न कांग्रेसले यतिधेरै क्रियाशील बनाएको हो। जुन संख्या २०७२ सालमा भएको १३ औं महाधिवेशनको भन्दा दोब्बर छ। त्यसबेला चार लाख ८० हजार मात्रै क्रियाशील थिए।
क्रियाशील सदस्य वडा अधिवेशनका मतदाता हुन्। उनीहरूबाटै क्षेत्रीय प्रतिनिधि चुनिएर महाधिवेशनका लागि प्रतिनिधि बन्छन् र केन्द्रीय कार्यसमिति बनाउँछन्। ८ लाख ५२ हजारमध्ये चार लाख ९ हजार ३३ जना भने पुरानै सदस्य हुन्। उनीहरूको नवीकरण गरिएको हो।
क्रियाशील सदस्यताका कारण अधिवेशन कार्यतालिका प्रभावित
क्रियाशील सदस्यताको सम्पूर्ण काम समयमै सम्पन्न भएको कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज अर्थात् साउन १२ गते गाउँ-नगर वडा अधिवेशन हुने थियो । तर समयमै क्रियाशील सदस्यता वडास्तरमा नपुगेका कारण पार्टी पदाधिकारी बैठकले यसअघि नै वडा अधिवेशन स्थगित गरिसकेको छ ।
कांग्रेसले क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि गत असार ३० गतेभित्र तोकेको थियो । केही जिल्ला र क्षेत्रको विवादका कारण उक्त प्रतिवेदन आज १२ दिन ढिला बुझाइएको छ ।
कांग्रेसको गत असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमितिले बैठकले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको थियो । संशोधित कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन यही साउन १२, गाउँ-नगरपालिका अधिवेशन साउन १६, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते तोकिएको थियो ।
यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ
कुन उमेरका कति सदस्य ?
उमेरअनुसार हेर्दा १६ देखि २५ वर्ष उमेर समूहका ४० हजार चार सय २७ जना क्रियाशील छन्।
२६ देखि ४० वर्षसम्मका २ लाख ४९ हजार ७ सय ७४ जना छन्। कांग्रेसमा यसपटक युवाको आकर्षण देखिएको छ।
४१ देखि ६० वर्ष उमेर समूहका धेरै क्रियाशील छन्। तीन लाख २८ हजार दुई सय ३४ जना क्रियाशील यो समूहबाट छन्।
यस्तै ६१ देखि ७५ वर्ष उमेरका ८३ हजार १० जना छन् भने ७५ वर्षभन्दा माथिका ११ हजार ७ सय ८२ जना मात्रै छन्।
समावेशीतर्फ को कति ?
अल्पसंख्यकतर्फ ६ हजार ८ सय २९ जना क्रियाशील छन्।
मधेशीतर्फ ९५ हजार १ सय ४१, मुश्लिम १६ हजार ९ सय ७०, थारूतर्फ २७ हजार ६ सय १५, अपांगता भएकातर्फ दुई सय १, पीछडिएको क्षेत्रबाट १४ हजार ९ सय १४, आदिवासी जनजाति २ लाख ८ हजार एक सय ५९, खसआर्य तीन लाख ६७ हजार ६ सय ११, दलित ४५ हजार चार सय १७ जना छन्।
प्रदेशअनुसार कहाँ कति ?
प्रदेश नम्बर १ मा एक लाख ७४ हजार सात सय ८२ जना क्रियाशील छन्। प्रदेश नम्बर २ मा एक लाख १२ हजार ९ सय ४६, बागमती प्रदेशमा एक लाख ८६ हजार एक सय ४३, गण्डकी प्रदेशमा एक लाख १८ हजार ६ सय ३३ जना, लुम्बिनी प्रदेशमा एक लाख ३० हजार ८ सय ८५, कर्णाली प्रदेशमा ५४ हजार ५ सय ६६ र सुदुरपश्चिम प्रदेशमा ७४ हजार ७ सय ५६ जना क्रियाशील छन्।
यी क्षेत्रमा अझै विवाद
क्रियाशील सदस्यताबारे विवाद भएका धनुषा क्षेत्र नम्बर ४, सर्लाही क्षेत्र नम्बर २, बारा र सप्तरीको नयाँ क्रियाशीलबारे छानबिन समितिले निर्णय गर्न सकेको छैन।
यी क्षेत्रमा के गर्ने भन्नेबारे आवश्यक निर्णय गर्न शीर्ष नेतालाई समितिले अनुरोध गरेको छ। केन्द्रीय कार्यालय सानेपामा बारादेखि धनुषासम्मका नेता तथा कार्यकर्ता धर्ना र आमरण अनसनमा छन्।
उनीहरूका माग सम्बोधन गर्न सहमहामन्त्री प्रकाशशरण महत र पूर्वसहमहामन्त्री रामशरण महतलाई जिम्मेवारी दिइएको छ।
प्रतिक्रिया दिनुहोस्