काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज तीन वर्ष पुगेको छ । तीन वर्ष अर्थात् ३६ महिनासम्म प्रहरीले अनुसन्धानमा सफलता भने हात पार्न सकेको छैन ।०७५ साउ न १० गते साथी रोशनीको घरमा गृहकार्य गर्छु भन्दै गएकी निर्मला साउन ११ गते मृत अवस्थामा फेला परेकी थिइन ।
पोस्टमार्टम रिपोर्ट र अरु परीक्षणबाट उनको बलात्कारपछि हत्या भएको खुलेको थियो । निर्मला हत्यापछि दोषीमाथि कारबाहीको माग गर्दै महेन्द्रनगरमा आन्दोलन चर्किएको थियो । सोही आन्दोलनमा प्रहरीको गोली लागेर एकजनाको ज्यानसमेत गएको थियो ।
प्रहरीले ०७५ भदौ ४ गते भीमदत्त–१९, बाँगफाँटाका ३९ वर्षीय दिलीपसिंह विष्टलाई मुख्य अभियुक्त भन्दै सार्वजनिक गरेको थियो । तर, उनको डीएनए नमिलेपछि उनी छुटेका थिए । घटनाको अनुसन्धानमा प्रहरीले प्रमाण नष्ट गरेको भन्दै तत्कालीन कञ्चनपुर प्रहरीका एसपी, सीआईबीका अधिकारीलगायत प्रहरी बर्खास्तीदेखि निलम्बनसम्म परेका थिए । तर, उनीहरुले सफाइ पाइसकेका छन् ।
निर्मला हत्या प्रकरणको अनुसन्धानमा हालसम्म दर्जनौँ टोली खटिइसकेका छन् । तर, कसैले पनि सफलता हात पार्न सकेका छन् । हत्याकाण्डको ३६ महिना बितिसक्दा पनि प्रहरी हत्यरासम्म पुग्ने ‘क्लु’कै खोजीमा लागेको छ ।
प्रहरीको विशेष ब्युरो मानिएको केन्द्रीय अनुसन्धान ब्युरोको टोली सुरुवाती समयदेखि नै अनुसन्धानका लागि कञ्चनपुरमै छ । घटनाबारे प्रहरीकै अधिकारीहरुको समेत फरक–फरक बुझाइ छ । सुरुवाती समयमा र बर्खास्तीदेखि निलम्बनमा परेका प्रहरी अधिकारीहरुले दिलीप विष्ट नै अभियुक्त भएको दाबी गर्दै आएका छन् भने अरु प्रहरी अधिकारीहरुले दिलीप अभियुक्त हुने पर्याप्त आधार नदेखिएको बताउँदै आएका छन् ।
प्रहरीले हालसम्म एक हजारभन्दा बढी व्यक्तिसँग घटनाबारे सोधपुछ गरिसकेको छ । ७० जना बढीको डीएनए परीक्षण गरेको छ । तर, कसैको पनि डीएनए म्याच भएको छैन । यसबाहेक प्रहरीले निर्मलाको गाउँ र आसपासका अरु गाउँका सबै घर र घरका सदस्यको विवरणसमेत संकलन गरेको थियो ।
निर्मला पन्तको हत्यारा चाँडो पत्ता लगाउन प्रधानमन्त्री देउवाको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्यारालाई चाँडो पत्ता लगाउन निर्देशन दिएका छन् । गृहमन्त्री र प्रहरी प्रमुखलाई आइतबार बोलाएर देउवाले अहिलेसम्म भएको अनुसन्धानलाई लिँदै चाँडो दोषीलाई पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका हुन् ।
१० साउन ०७५ मा महेन्द्रनगर, उल्टाखामकी निर्मलाको बलात्कारपछि हत्या भएको थियो । भोलिपल्ट अर्धनग्न अवस्थामा उखुबारीमा उनको शव भेटियो । बलात्कारपछि घाँटी थिचेर उनको हत्या भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भइसकेको छ ।
प्रहरी लापरबाहीले घटना भएको भन्दै भोलिपल्टैदेखि प्रहरीमाथि सर्वसाधारणको अविश्वास बढेको थियो । तीन वर्षसम्म निरन्तर अनुसन्धान गर्दा पनि प्रहरीले अभियुक्त पहिचान गर्न नसक्दा संगठनमाथिको त्यो विश्वास फिर्ता ल्याउन सकेको छैन ।
सम्भवतः नेपाल प्रहरीकै इतिहासमा यति धेरै समय र स्रोतसाधन खर्च भएको घटना बनेको प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरी प्रधान कार्यालयले तीन वर्षदेखि यो घटनाको अनुसन्धानमा निरन्तर विशेष टोली बनाएर खटाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्