पोखरा – पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका संरचनामा आजदेखि हटाउन सुरु भएको छ।
यसअघि महानगरले सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि दिएको ३५ दिनको समयसीमा शनिबार सकिएको छ।
महानगरले गत वैशाख ३ गते सार्वजनिक जमिनमा बनाइएका संरचना हटाउन सूचना जारी गरेको थियो। खोलाघरमा बसोबास गरिरहेका तथा संरचना निर्माण गरेका व्यक्ति तथा संस्थालाई पूर्वसूचना दिइसकिएकाले आजबाट अभियान सुरु भएको हो ।
महानगरका फिर्केका तीन स्थानबाट अतिक्रमित संरचना हटाउन सुरु गरिएको छ। पोखरा-२ र १८ को सिमाना अँधेरिकुनादेखि सुरु गरी वडा ४ तर्फ, पोखरा-४ र ५ को सिमाना फिर्केपुलस्थित बूढानीलकण्ठ मन्दिरदेखि सुरु गरी वडा नं. ५ र ८ तर्फ तथा पोखरा-७ र ८ को सिमाना जिरोकिलोमिटरस्थित लायन्स भवनदेखि फेवातालतर्फ गरी तीन स्थानबाट डोजर चलाइएको हो। अतिक्रमित संरचना हटाउने अभियान सम्बन्धित वडाका अध्यक्ष तथा जनप्रतिनिधिको नेतृत्वमा सञ्चालन भइरहेको छ ।
महानगरले सार्वजनिक सूचना जारी गरेपछि केही संस्थाले भने आफ्ना संरचना खाली गरिसकेका छन्।
फिर्केखोला नै मिचेर ९७ अस्थायी संरचना र ३५ स्थायी संरचना निर्माण गरेको नापजाँच प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी, खोलामाथि १० अस्थायी र १८ स्थायी प्रकृतिका संस्थागत संरचना निर्माण गरिएका छन्।























