images
images
  • निषेधाज्ञा खुलेसँगै बढ्यो संक्रमण, यस्ता छन् कारण

    काठमाडौँ। निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस संक्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा संक्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

    सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै संक्रमणको दर पनि बढ्दै गएको पाइएको हो । निषेधाज्ञा खुलेसँगै भीडभाड तथा जनस्वास्थ्यमा मापदण्ड लागू नगर्नेजस्ता कारणले संक्रमणको दर बढेको पाइएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले साउन लागेपछि मानिसको आउजाउ बढेपछि संक्रमणदर पनि बढिरहेको बताए । निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यमा मापदण्ड लागू गर्न, भीडभाड नगर्न र सामाजिक दूरी दुई मिटर कायम गर्न पटकपटक आग्रह गरे पनि मानिसले लत्याएका छन् । यसबाट संक्रमण दर क्रमशः बढ्दै गएको पाइएको छ ।

    खुकुलो भएसँगै संक्रमण हुने दर बढिरहेको छ । विगत एक हप्तादेखि सङ्क्रमित हुने दर बढ्दो रहेको छ, उनले भने, संक्रमणको रोकथाम र नियन्त्रण गरे पनि भीडभाड गर्ने र जनस्वास्थ्यमा मापदण्ड लागू नगर्दा संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न सकिरहेको छैन ।

    सरकारले गत असार २२ गतेदेखि सबै प्रकारका व्यवसाय खुला र जोरबिजोर हटाउँदै सबै सवारी साधन सञ्चालन गर्ने गरी निषेधाज्ञालाई खुकुलो बनाएको हो । कोभिड–१९ को संक्रमण बढेसँगै गत वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू गरिएको थियो ।

    मन्त्रालयले निषेधाज्ञा खुकुलो भएको अवस्थामा अझै पनि बुझी नबुझी लुकीछिपी वा खुल्लमखुला जनस्वास्थ्यमा मापदण्ड उल्लंघन भइरहेको जनाएको छ । उहाँका अनुसार अहिले दैनिक परीक्षण गरिएकामध्ये २२ प्रतिशतमा संक्रमणदर रहेको छ । नेपालमा शुरुदेखि अहिलेसम्मको संक्रमणदर भने १९।३ प्रतिशत रहेको छ ।

    संक्रमणको दोस्रो लहर आएसँगै दैनिक एक हजार ८०० मा झरे पनि अहिले त्यो क्रमशः बढ्दै गइरहेको छ । अहिले त्यो सङ्ख्या बढेर तीन हजार पुगेको छ । साउन १ गते १४ हजार १८२ जनाको परीक्षण गर्दा दुई हजार ९३६ मा संक्रमण देखिएकामा बिहीबार साउन ७ गतेसम्म आइपुग्दा दुई हजार ७१४ पुगेका छन् ।

    यस्तै साउन २ गते १० हजार ६६ परीक्षण हुँदा एक हजार ८७५, ३ गते नौ हजार ६२८ परीक्षण गर्दा एक हजार ८०१, ४ गते ११ हजार ६६४ परीक्षण हुँदा दुई हजार ४४५, ५ गते १३ हजार १३५ परीक्षण हुँदा तीन हजार १०८ र साउन ६ गते दुई हजार ८३८ जना संक्रमित भएका छन् ।

    मन्त्रालयका अनुसार मृत्यु हुने सङ्ख्या १८ सम्ममा झरे पनि बिहीबार २४ जनाको संक्रमणबाट निधन भएको छ । यसैगरी सबभन्दा बढी संक्रमणदर हुने प्रदेशमा प्रदेश नं १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम रहेका छन् । ती प्रदेशमा परीक्षण गरिएकामध्ये दुई जनामा एक जना संक्रमित पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा। अधिकारीले बताए ।

    जनस्वास्थ्यविद् डा। सागरराज भण्डारी निषेधाज्ञा खुकुलो पारेसँगै जोखिम बढेको बताउँछन् । उनले परीक्षणको दायरा कम र खुकुलो भएसँगै मानिसको भीडभाड भएकाले नेपालमा संक्रमणको जोखिममा अझै रहेको बताए । मानिस घरमै बसेर संक्रमणलाई लुकाइरहेका छन् । संक्रमण भए पनि आइसोलेशनमा बसेका छैनन्, उनले भने, जसले गर्दा घरपिच्छै सबै मानिसमा संक्रमण हुने डर छ ।

    खोप लगाएका मानिसबाट पनि संक्रमण सर्ने जोखिम उत्तिकै रहेको उनी बताउँछन् । खोप लगाएका मानिस केही हुँदैन भन्दै जनस्वास्थ्यमा मापदण्ड लागू गरिएको देखिएको छैन, उनले भने, खोपले संक्रमणलाई नै रोक्ने होइन । संक्रमणको लक्षणलाई मात्र कमी गराउने हो । नेपालमा पहिलो लहर सकिए पनि गत चैतको दोस्रो हप्तादेखि संक्रमणको दोस्रो लहर आएको थियो । दोस्रो लहरले मानिसको जनजीवन असामान्य बनाएको थियो । संक्रमणको दोस्रो लहरले फोक्सोमा असर पुर्‍याएर अक्सिजनको मात्रा घटाउने र निमोनियाजस्ता रोग लागेका थिए । जनस्वास्थ्यविद् भण्डारीका अनुसार भारतमा संक्रमणको दर बढिरहेकाले नेपालमा जोखिम बढेको छ । खुला सीमाका कारण भारतबाट संक्रमण फैलने डर पनि छ ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। अनुप बाँस्तोला खुकुलो भएसँगै मानिसले जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा जोखिम रहेको बताउँछन् । ुखोपले लगाएको चारदेखि छ हप्तासम्म काम गर्दछ, उनले भने, खोप लगाएकाले पनि स्वास्थ्यमा मापदण्ड लागू नगर्दा त्यो बीचमा जोखिम नै हुन्छ ।

    १० जिल्लामा ५०० भन्दा बढी

    अहिले ५०० भन्दा बढी संक्रमित भएका जिल्ला १० वटा रहेका छन् । तिनमा मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, नवलपरासी ९पूर्व० र रुपन्देही रहेका छन् । यही साउन ६ गते मात्र नवलपरासी ९पूर्व०, रुपन्देही र कास्की प्रत्येकमा ५०० भन्दा बढी संक्रमित थपिएका हुन् । यसैगरी २०० भन्दा बढी संक्रमित हुने जिल्ला २६ पुगेका छन् । मन्त्रालयले अघिल्लो हप्ताको तुलनामा यस हप्ता २०० भन्दा बढी संक्रमण हुने जिल्ला धेरै थपिएको जनाएको छ ।

    उपत्यकामा पनि बढ्यो संक्रमण

    काठमाडौं उपत्यकामा पनि संक्रमणदर बढ्दो रहेको छ । उपत्यकामा भीडभाड र सवारी साधन चलेसँगै संक्रमण पनि बढिरहेको मन्त्रालयले जनाएको छ । साउन १ गते उपत्यकामा संक्रमित सङ्ख्या ५४१ पुगेकामा साउन ७ गते ७५१ पुगेको छ । साउन १ गते उपत्यका काठमाडौंमा ३४३, ललितपुरमा १३६ र भक्तपुरमा ६२ जनामा संक्रमण देखिएको थियो । साउन ७ गते काठमाडौंमा ५३६, ललितपुर १३० र भक्तपुर ८५ जनामा संक्रमण देखिएको छ ।

    काठमाडौंमा अहिलेसम्म दुई लाख १२ हजार १५२ जनामा संक्रमण पुष्टि भएको छ । अहिले काठमाडौंमा पाँच हजार ९१६ सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी ललितपुरमा कुल संक्रमित ३९ हजार ५९६ र एक हजार ६१ सक्रिय संक्रमित तथा भक्तपुरमा २३ हजार ४४२ संक्रमित र ९३५ सक्रिय संक्रमित रहेका छन् ।

    निको हुने पनि स्थिर

    संक्रमण बढेसँगै निको हुने दर पनि स्थिर रहेको छ । साउन १ गते निको हुने दर ९४.५ प्रतिशत रहेको थियो । साउन ७ गते पनि निको हुने दर साउन १ गतेकै जस्तो ९४.५ रहेको छ । अहिले निको हुने दर बढ्न सकेको छैन । साउन २ गतेदेखि साउन ४ गतेसम्मको ९४.७ प्रतिशतमा स्थिर रहेको थियो । साउन २ गते ९४.७ प्रतिशत, ३ गते ९४.७ प्रतिशत, ४ गते ९४.७ प्रतिशत, ५ गते ९४.६ प्रतिशत ६ गते निको हुने दर ९४.६ प्रतिशत रहेको छ ।

    खोप अभियान जारी

    नेपालमा अहिलेसम्म भारत, चीन र अमेरिकाबाट कोरोना भाइरसविरुद्धको खोप आएको छ । ती खोप प्राथमिकतानुसार मन्त्रालयले नियमितरूपमा नागरिकलाई लगाइरहेको छ । कोभिसिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप नेपालमा लगाइएका छन् । अहिलेम्म नेपालमा ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ । सरकारले साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ चीनबाट ल्याउने भएको छ ।

    पहिलो मात्रा लगाउने ३३ लाख आठ हजार ७३० र दोस्रो मात्रा लगाउने १२ लाख ८१ हजार २४० जना पुगेका छन् । नेपालमा अहिलेसम्म सात लाख २७ हजार १६९ संक्रमित पुगेका छन् । अहिले सघन उपचारकक्षमा ६३५ र भेन्टिलेटरमा १७२ जना रहेका छन् । यस्तै संक्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ३७ हजार ६९० पुगेको छ । यस्तै संक्रमणबाट हालसम्म ९ हजार ६६१ जनाको निधन भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images