images
images
  • यी हुन् ट्रम्पले ठाडै अस्वीकार गरेको इरानी शर्त

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो शान्ति प्रस्तावमा दिएको जवाफ पूर्ण रूपमा अस्वीकार्य रहेको बताएका छन् ।

    तर, उनले इरानको जवाफको विस्तृत विवरण सार्वजनिक गरेका छैनन् ।

    इरानी सञ्चारमाध्यमका अनुसार इरानले आफ्नो प्रतिक्रियामा केही प्रमुख सर्तहरू अघि सारेको छ ।

    तीमध्ये अमेरिकी प्रतिबन्ध हटाउन वार्ता हुनुपर्ने, इरानी बन्दरगाहमा लगाइएको नाकाबन्दी अन्त्य हुनुपर्ने तथा भविष्यमा हुने सम्भावित आक्रमणविरुद्ध सुरक्षा ग्यारेन्टी दिइनुपर्ने माग समावेश छ ।

    इरानले युद्धबाट भएको क्षतिको क्षतिपूर्ति तिर्नुपर्ने तथा जफत गरिएका सम्पत्ति र कोष फिर्ता गर्नुपर्ने माग पनि राखेको बताइएको छ ।

    साथै, इरानले करिब २७० अर्ब डलर क्षतिपूर्ति दाबी गरेको उल्लेख छ ।

    तेहरानले आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा बन्द गर्न अस्वीकार गरेको छ र प्रतिबन्धहरू स्थायी नभई सीमित अवधिका लागि मात्र हुनुपर्ने अडान लिएको छ ।

    अमेरिकाले भने इरानको उच्च स्तरमा सम्बद्र्धित युरेनियम भण्डार नियन्त्रणमा लिनुपर्ने माग गरेको छ, जसलाई इरानले ठाडै अस्वीकार गरेको छ ।

    यसैबीच, अमेरिका इरानले हिजबुल्ला र हमासलाई दिँदै आएको समर्थन रोक्नुपर्ने अडानमा रहेको छ ।

    इरानले होर्मुज जलमार्गमा आफ्नो नियन्त्रण कायम राख्न चाहेको र त्यहाँबाट जाने जहाजहरूबाट शुल्क लिने योजना रहेको बताइएको छ ।

    दुवै पक्षले हालसम्म आफ्नो प्रस्तावको पूर्ण विवरण सार्वजनिक नगरेकाले वार्ता अझै जटिल र तनावपूर्ण बनेको देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images