images
images
  • फोटोन ईभीमा ६ करोडभन्दा बढी भन्सार छलीको आरोप, एमएडब्ल्यू समूहविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी

    काठमाडौं– अटोमोबाइल व्यवसायी तथाएमएडब्लु ग्रुपका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालविरुद्ध नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी कर छली, भन्सार छली तथा आयकर छली गरेको आरोपसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दर्ता भएको छ ।

    सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दर्ता गरिएको उजुरीमा अग्रवाल तथा उनीसँग सम्बन्धित कम्पनीहरूले विगत डेढ दशकदेखि संगठित रूपमा राजस्व छली गर्दै आएको आरोप लगाइएको छ ।

    उजुरीकर्ताले २०६७ सालको चर्चित नक्कली भ्याट बिल प्रकरणदेखि हालसम्मका सम्पूर्ण आर्थिक कारोबारमाथि विस्तृत अनुसन्धान गरी दोषी देखिए कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन् ।

    उजुरीमा त्रिपुरेश्वरस्थित ‘मोरङ अटो वक्र्स’मार्फत विदेशबाट सवारीसाधन आयात गरी बिक्री वितरण गर्ने क्रममा नक्कली भ्याट बिल प्रयोग गरेर राज्यलाई बुझाउनुपर्ने करोडौं रुपैयाँ राजस्व छली गरिएको दाबी गरिएको छ ।

    निवेदनमा भनिएको छ, “विदेशबाट सवारीसाधन आयात गरी बिक्री वितरण गर्ने क्रममा नक्कली भ्याट बिल प्रयोग गरेर राज्यलाई बुझाउनुपर्ने कर छली गरिएको छ ।”

    उजुरीमा विशेष रूपमा २०६७ सालमा सार्वजनिक भएको नक्कली भ्याट बिल काण्डलाई पुनः उठाइएको छ ।

    त्यसबेला गठित छानबिन समितिले अग्रवाल सम्बद्ध कम्पनीलाई दोषी किटान गरेको दाबीसमेत निवेदनमा गरिएको छ ।

    उक्त प्रकरणपछि ‘मोरङ अटो वक्र्स’ कम्पनी बन्द गरिएको र त्यसपछि मिल्दोजुल्दो नाममा नयाँ कम्पनी स्थापना गरेर कारोबारलाई निरन्तरता दिइएको आरोप पनि लगाइएको छ ।

    उजुरीकर्ताका अनुसार ‘मोरङ’ बाट ‘एम’, ‘अटो’ बाट ‘ए’ र ‘वक्र्स’ बाट ‘डब्लु’ जोडेर ‘एमएडब्ल्यू’ नामका विभिन्न कम्पनी सञ्चालन गरिएको हो ।

    उजुरीमा भनिएको छ, “नक्कली भ्याट बिलको कारोबारमा प्रयोग भएको मोरङ अटो वक्र्स (भ्याट नं. ३०१९७४२८२) बन्द गरी सोहीसँग मिल्दोजुल्दो नामका कम्पनीमार्फत कारोबार सञ्चालन गरिएको छ ।”

    उजुरीकर्ताले एउटै समूहभित्र कृत्रिम कारोबार देखाएर कर दायित्व घटाउने, पुष्टि नभएका खर्च देखाएर आयकर छली गर्ने तथा राज्यलाई ठूलो राजस्व नोक्सानी पुर्‍याउने काम भएको आरोपसमेत लगाएका छन् ।

    फोटोन ईभी आयातमा ६ करोडभन्दा बढी भन्सार छलीको आरोप

    उजुरीमा आर्थिक वर्ष २०८०/०८१ मा MAW Commercial Vehicles ले आयात गरेको Foton कम्पनीका विद्युतीय गाडीमा समेत भन्सार छली भएको दाबी गरिएको छ ।

    निवेदनअनुसार तातोपानी भन्सार कार्यालयमार्फत आयात गरिएका फोटोन ईभी गाडीमा ६ करोड २२ लाख रुपैयाँभन्दा बढी राजस्व छली भएको आरोप छ ।

    भन्सार विभागले चलानी नम्बर ५६४–०८१–०८२ मार्फत बक्यौता रकम तत्काल दाखिला गर्न पत्राचार गरेको भए पनि हालसम्म रकम नतिरेको उजुरीमा उल्लेख गरिएको छ ।

    उजुरीमा भनिएको छ, “भन्सार विभागले करोडौं रुपैयाँ बक्यौता रहेको भन्दै रकम दाखिला गर्न पत्राचार गर्दा समेत सरकारलाई तिर्नुपर्ने कर भुक्तानी नगरी अटेर गर्दै आएका छन् ।”

    स्रोतका अनुसार १५ सिट क्षमताका फोटोन ईभी गाडीलाई कम भन्सार दर लाग्ने १३ सिटे सवारीसाधनको वर्गमा राखेर राजस्व छली गरिएको आशंका गरिएको छ ।

    महालेखा परीक्षकको कार्यालयले समेत उक्त प्रकरणमा छानबिन गरी बक्यौता असुल गर्न सुझाव दिएको बताइएको छ ।

    भन्सार विभागले बक्यौता असुली प्रक्रिया अघि बढाएपछि अग्रवाल पक्ष सर्वोच्च अदालत पुगेको दाबी पनि सार्वजनिक भएको छ ।

    उजुरीअनुसार अदालतमा दायर रिटपछि अल्पकालीन अन्तरिम आदेश जारी भएको र त्यसपछि असुली प्रक्रिया रोकिएको उल्लेख गरिएको छ ।

    राजस्व प्रशासनका एक अधिकारीका अनुसार अदालतमा मुद्दा पुगेपछि भन्सार असुली प्रक्रिया जटिल बन्ने गरेको छ ।

    ती अधिकारीले भने, “राजस्व असुलीको प्रक्रिया अघि बढाउँदा अदालतबाट आदेश आउने र विषय लामो समयसम्म विचाराधीन रहने समस्या देखिन्छ ।”

    ‘पहुँचका आधारमा कारबाहीबाट जोगिएको’ आरोप

    उजुरीकर्ताले अग्रवालले राजनीतिक, प्रशासनिक तथा कानुनी पहुँच प्रयोग गरेर विगतमा कारबाहीबाट जोगिँदै आएको आरोपसमेत लगाएका छन् ।

    निवेदनमा २०६७ सालको नक्कली भ्याट बिल प्रकरणसमेत प्रभाव र पहुँचका आधारमा सामसुम पारिएको दाबी गरिएको छ ।

    राजस्व प्रशासनसँग सम्बन्धित अधिकारीहरूका अनुसार नक्कली भ्याट बिल, कृत्रिम खर्च तथा समूहभित्रको कारोबार देखाएर कर दायित्व घटाउने प्रवृत्ति नेपालमा पुरानै समस्या हो ।

    विशेषगरी ठूला व्यावसायिक समूहहरूले सहायक कम्पनीबीच कारोबार देखाएर नाफा सार्ने, खर्च बढाएर देखाउने तथा आयकर दायित्व कम गर्ने अभ्यासबारे कर प्रशासनमा पटक–पटक गुनासो आउने गरेको छ ।

    अर्थविद्हरूका अनुसार यस्ता गतिविधिले राज्यको राजस्व संकलन प्रणाली कमजोर बनाउनुका साथै इमानदार करदातामाथि अन्याय हुने अवस्था सिर्जना गर्छ ।

    एक पूर्व राजस्व प्रशासकका अनुसार यदि एउटै समूहले फरक–फरक कम्पनी स्थापना गरेर कृत्रिम कारोबारमार्फत कर छली गरेको प्रमाणित भएमा त्यो गम्भीर आर्थिक अपराध मानिन सक्छ ।

    उजुरीमार्फत अग्रवालसँग सम्बन्धित सबै कम्पनीको २०६७ सालयताका भ्याट विवरण, आयकर अभिलेख, भन्सार कागजात तथा वित्तीय कारोबारमाथि विस्तृत अनुसन्धान गर्न माग गरिएको छ ।

    विशेषगरी समूहभित्र भएका कारोबार, पुष्टि नभएका खर्च, आयात मूल्यांकन तथा भन्सार दर निर्धारण प्रक्रियामाथि अनुसन्धान हुनुपर्ने माग निवेदनमा उल्लेख छ ।

    उजुरीकर्ताले प्रधानमन्त्री कार्यालयमार्फत राजस्व अनुसन्धान विभाग, भन्सार विभाग, आन्तरिक राजस्व विभाग तथा अन्य सम्बन्धित निकायलाई सक्रिय बनाएर निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images