images
images
  • ई–बिडिङ ह्याकिङ प्रकरण : पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा, क्रिप्टोमार्फत अवैध कारोबारको आरोप

    काठमाडौं– ई–बिडिङ प्रणाली ह्याक गरी ठेक्का प्रक्रियामा अनधिकृत हेरफेर गरेको र क्रिप्टोकरेन्सीमार्फत अवैध कारोबार गरेको आरोपमा २२ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा उक्त मुद्दा दायर गरेको हो। सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई बोलपत्र प्रक्रियामा छेडछाड गरिएको र संगठित रूपमा ठेक्का प्रभावित पारिएको आरोप प्रतिवादीहरूमाथि लगाइएको छ।

    मुद्दामा पूर्वमन्त्री तथा राप्रपा नेता विक्रम पाण्डेसहित २२ जनालाई प्रतिवादी बनाइएको छ। सीआईबीका अनुसार आईएमएस सफ्टवेयर प्रालिद्वारा सञ्चालित डेटा हबको क्लाउड सर्भरमा परीक्षणका लागि प्रयोग भएको भिपिएस सर्भरमार्फत सार्वजनिक खरिद प्रणालीमा पहुँच पुर्‍याई ह्याक गरिएको पाइएको छ।

    अनुसन्धानमा संलग्न समूहले ठेक्का प्रक्रियाको संवेदनशील चरणमा प्रणालीभित्र प्रवेश गरी आर्थिक प्रस्तावहरूमा हेरफेर गर्ने गरेको र केही अवस्थामा क्रिप्टोकरेन्सी तथा बिटक्वाइनमार्फत कमिसन लेनदेन भएको समेत खुलेको सीआईबीको दाबी छ।

    प्रतिवादीहरूमा सरकारी कर्मचारी, निर्माण व्यवसायी तथा विभिन्न कम्पनीका सञ्चालकहरू रहेका छन्। शहरी तथा भवन निर्माण आयोजना धनकुटामा कार्यरत कम्प्युटर अपरेटर दिवाकर देउजा, निर्माण व्यवसायी ऋषिकेश गौली, सञ्जय भट्ट, सागर कटुवाल, भाष्कर कटुवाल, जीवनकुमार दास, अनिल श्रेष्ठ, टंककुमार श्रेष्ठ, अमृत बोहोरा, स्वदेश पोखरेल लगायतका नाम उल्लेख छन्।

    त्यस्तै कल्पवृक्ष बिल्डर्स, आशिष निर्माण सेवा, केबीके कन्स्ट्रक्सन, मान कन्स्ट्रक्सन, रेमिट इन्फास्ट्रक्चर, एसके कन्स्ट्रक्सन लगायत विभिन्न निर्माण कम्पनीका सञ्चालकहरू पनि प्रतिवादी सूचीमा परेका छन्।

    1778408487 rQDhM

    सीआईबीले सुरुमा कम्प्युटर अपरेटर देउजालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। उनलाई २८ फागुनमा पक्राउ गरिएको थियो। हालसम्म १३ जना पक्राउ परेका छन् भने बाँकी प्रतिवादीहरू फरार रहेका छन्।

    अनुसन्धान अनुसार देउजाले प्रोग्रामिङ, क्लाउड सर्भर तथा PHP प्रयोग गरी प्रणालीमा ब्याकडोर बनाउँदै ई–प्रोक्युरमेन्ट प्रणालीमा अनधिकृत पहुँच पुर्‍याउने गरेको आरोप छ। त्यसैमार्फत बोलपत्रको अन्तिम चरणमा विवरण परिवर्तन गरी न्यूनतम मूल्य राखेर ठेक्का हात पार्ने गरेको दाबी गरिएको छ।

    अर्का प्रतिवादी भाष्करराज अर्यालले बिटक्वाइनमार्फत विदेशमा रहेका व्यक्तिमार्फत भुक्तानी लिने र नेपालमा नगदमा मिलान गर्ने गरेको पनि अनुसन्धानमा उल्लेख छ।

    यसअघि २०७७ असार ३१ मा पनि देउजालाई नेपाल टेलिकमको मोबाइल एप प्रणाली ह्याक गरेको आरोपमा पक्राउ गरिएको थियो, जसले संस्थाको राजस्व र प्रतिष्ठामा असर पुर्‍याएको बताइएको थियो।

    त्यस्तै आशिष निर्माण सेवाका सञ्चालक ऋषिकेश गौलीले आफ्ना कर्मचारी ज्योति सुवेदीले ठेक्का सम्बन्धी सम्पूर्ण काम हेर्ने गरेको बयान दिएका छन्। उनले प्रणालीमा अनधिकृत पहुँच भएको विषयबारे आफूलाई जानकारी नभएको दाबी गरेका छन्।

    तर, अनुसन्धानका क्रममा गौलीले अनधिकृत पहुँच स्वीकार गरेको आधारमा उनकी कर्मचारी सुवेदीलाई फरार प्रतिवादी बनाइएको छ। सुवेदी योजनाकार रहेको भन्दै अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।

    प्रहरीले यो प्रकरणलाई संगठित साइबर अपराध, आर्थिक अनियमितता र क्रिप्टोमार्फत अवैध लेनदेनसँग जोडिएको गम्भीर मुद्दाका रूपमा अनुसन्धान गरिरहेको छ।

    1778408487 JaVZV

    प्रतिक्रिया दिनुहोस्
    images
    images