काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भूमिहीन सुकुम्बासीहरूको समस्याप्रति आफू प्रतिबद्ध रहेको बताएका छन् ।
आइतबार आयोजित रास्वपा सांसदहरूको प्रशिक्षण कार्यक्रमको समापनमा बोल्दै उनले आफ्नो पार्टीले कुनै पनि सुकुम्बासीको घर भत्काउने काम नगरेको स्पष्ट पारे ।
विगतका राजनीतिक दलहरूले भूमिहीन सुकुम्बासीलाई केवल भोट बैंकका रूपमा प्रयोग गरेकाले समस्या झन् जटिल बनेको उनले बताए ।
उनले अव्यवस्थित र असुरक्षित रूपमा नदी किनार तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बस्ने अवस्थालाई नियन्त्रण गर्न हालका कदम चालिएको उल्लेख गरे ।
लामिछानेले भने, ‘यस बाहेकको अवस्थामा म छाती थाप्न तयार छु । भूमिहीनहरूको समस्याबाट मैले कहिल्यै आफ्नो छाती हटाएको छैन । कसैले पनि भूमिहीनहरूलाई उचाल्न आवश्यक छैन । हामी उहाँहरूलाई अधिकार दिन चाहन्छौं र अधिकार सुनिश्चित नभएसम्म मेरो साथ रहिरहनेछ ।’






















