काठमाडौं– भदौ २३–२४ को जेन–जी विद्रोहपछि उत्पन्न राजनीतिक संकटमा सुरुमा काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहको नाम प्रधानमन्त्रीका रूपमा चर्चामा आएको थियो ।
केपी शर्मा ओलीले राजीनामा दिएपछि सत्ता रिक्तता सैनिक मुख्यालय हुँदै अन्ततः राष्ट्रपति कार्यालय शीतलनिवाससम्म पुगेको थियो ।
त्यही क्रममा वैकल्पिक नामहरूमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, कुलमान घिसिङ, कल्याण श्रेष्ठ, सन्दुक रुइतलगायतको चर्चा भयो ।
जेन–जी समूहको बहस र डिस्कर्ड मतदानमा कार्कीको पक्ष बलियो देखिएपछि २७ भदौमा उनी अन्तरिम प्रधानमन्त्री नियुक्त भइन् ।
त्यसबेला बालेन्द्र शाहको पनि अप्रत्यक्ष समर्थन रहेको बताइन्छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दलसँग मिलेर चुनावी सरकार बनाउन सुझाव दिए पनि कार्कीले अडान लिएकी थिइन् ।
बालेन्द्रसँगको नजिक सम्बन्धले उनलाई प्रारम्भिक समर्थन दिलाएको भए पनि पछि यही सम्बन्धमा दरार देखिन थाल्यो ।
गृह मन्त्रालयको नेतृत्व, विशेष गरी ओमप्रकाश अर्यालको नियुक्ति, बालेन्द्र पक्षलाई असन्तुष्ट बनाउने पहिलो प्रमुख विवाद बन्यो ।
त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई पक्राउ नगरेको विषयले पनि असन्तोष थपियो, जसमा सुधन गुरुङमार्फत दबाब सार्वजनिक रूपमा देखिएको थियो ।
सम्बन्ध चिसिँदै जाँदा अर्याललाई राष्ट्रिय सभा सिफारिस गर्ने निर्णय र रामेश्वर खनाललाई अर्थमन्त्री बनाउने विषयले थप विवाद सिर्जना गर्यो ।
तर राष्ट्रपति कार्यालयले अर्यालको सिफारिस अघि बढाएन, जसमा बालेन्द्रको चासो पनि जोडिएको बताइन्छ ।
अन्ततः विभिन्न नियुक्ति, निर्णय र शक्ति सन्तुलनका विषयमा मतभेद बढ्दै जाँदा बालेन्द्र पक्ष र कार्की सरकारबीच दूरी गहिरिँदै गएको देखिन्छ ।






















