काठमाडौं– तमिलनाडुका मुख्यमन्त्री थालापति विजयले शपथ ग्रहणपछि तीन प्रमुख निर्णय गरेका छन् ।
आइतबार चेन्नईको नेहरू स्टेडियममा आयोजित समारोहमा शपथ लिँदै उनले २०० युनिटसम्म निःशुल्क बिजुली, लागुऔषध नियन्त्रणका लागि प्रत्येक जिल्लामा विशेष बल गठन र महिलाको सुरक्षाका लागि स्पेशल टास्क फोर्स बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् ।
उनको नेतृत्वमा रहेको तमिलगा वेत्री कजगम (टिभीके)ले विधानसभा चुनावमा १०८ सिट जिते पनि गठबन्धन दलहरूको समर्थनपछि बहुमत सुनिश्चित गरेको हो ।
टिभीकेलाई कांग्रेस, सीपीआई, सीपीएम, भीसीके र आईयूएमएलले समर्थन गरेका छन्, जसपछि गठबन्धनको संख्या १२१ पुगेको छ ।
विजयले २०२४ मा स्थापना गरेको टिभीके छोटो समयमै सत्तामा पुगेको हो ।
चुनावमा उनले सबै २३४ सिटमा उम्मेदवारी दिँदै ‘सिठ्ठी अभियान’मार्फत परिवर्तनको सन्देश दिएका थिए र डीएमकेलाई मुख्य राजनीतिक प्रतिद्वन्द्वी तथा भाजपालाई वैचारिक विरोधीका रूपमा प्रस्तुत गरेका थिए ।
उनका साथमा केही मन्त्रीहरूले पनि शपथ लिएका छन् ।
अब नयाँ सरकारलाई १३ मे भित्र विश्वासको मत लिनुपर्नेछ ।


विश्व खबर 




















