काठमाडौं– काठमाडौं उपत्यकामा पटक–पटक ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ जना चालकको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि सिफारिस गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले १६ पटकसम्म नियम उल्लङ्घन गरेको पाइएपछि ती चालकहरूको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न यातायात व्यवस्था विभागलाई पत्राचार गरेको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीका अनुसार पटक–पटक कारबाही हुँदा पनि अटेर गर्दै नियम उल्लङ्घन दोहोर्याउने चालकहरूलाई कडा कारबाही स्वरूप यो कदम चालिएको हो ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार पाँच पटकभन्दा बढी नियम उल्लङ्घन गर्ने चालकको लाइसेन्स ६ महिनासम्म निलम्बन गर्न सकिने व्यवस्था छ ।
सोही कानुनी आधारमा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले जरिवानाले मात्र अनुशासन नआएपछि लाइसेन्स निलम्बनमार्फत कडाइ गर्नुपरेको बताएको छ ।
निलम्बनपछि चालकहरूले ६ महिनासम्म कुनै पनि सवारीसाधन चलाउन पाउने छैनन् ।
यस कदमले उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालनामा सुधार आउने अपेक्षा गरिएको छ ।






















