काठमाडौं– ललितपुरको हात्तीवनस्थित चर्चित निजी विद्यालय लिटल एन्जल्स स्कुलमाथि सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेको आरोप लागेको छ ।
सरकारी निकायहरूले विद्यालयले करिब १० रोपनीभन्दा बढी जग्गा गैरकानुनी रूपमा भोगचलन गरेको निष्कर्ष निकाल्दै त्यहाँका संरचना हटाउने तयारी अघि बढाएका छन् ।
सरकारी विवरणअनुसार विद्यालयसँग करिब १०० रोपनी जग्गाको वैधानिक स्वामित्व रहेको भए पनि हाल ११० रोपनीभन्दा बढी क्षेत्रफल प्रयोग भइरहेको देखिएको छ ।
यस आधारमा अतिरिक्त क्षेत्रफलमा बनेका संरचना हटाउन डोजर चलाउने तयारी गरिएको बताइएको छ ।
वि.सं. २०२१ सालको नापी नक्साअनुसार विद्यालय परिसरभित्र कुल ११० रोपनी ५ आना १ पैसा २.४० दाम अर्थात् ५६ हजार १३३.११ वर्गमिटर क्षेत्रफल देखिन्छ ।
तर विद्यालयको जग्गाधनी प्रमाणपूर्जामा भने १०० रोपनी १४ आना २.५१ दाम अर्थात् ५१ हजार ३२३.८४ वर्गमिटर मात्रै उल्लेख छ ।
यसले विद्यालयले आफ्नो स्वामित्वभन्दा झण्डै १० रोपनी बढी क्षेत्र ओगटेको सरकारी अधिकारीहरूको दाबी छ ।
प्राप्त विवरणअनुसार विद्यालय परिसरभित्र विभिन्न कित्ता नम्बरअन्तर्गत १० रोपनी ३ आना २ पैसा बराबर सरकारी बगर जग्गा परेको छ ।
साथै, सार्वजनिक कुलोको १ रोपनी २ आना ३ पैसा २ दाम क्षेत्रफलसमेत विद्यालय हाताभित्र समेटिएको देखिएको छ ।
विद्यालयको पूर्वतर्फ रहेको कर्मनाशा खोलाको बहाव विद्यालय कम्पाउन्डभित्रै पर्ने उल्लेख गर्दै अधिकारीहरूले नदी किनारको मापदण्डसमेत उल्लंघन भएको बताएका छन् ।
प्रचलित कानुनअनुसार खोलाको किनारबाट कम्तीमा १० मिटर क्षेत्र खाली राख्नुपर्ने व्यवस्था छ ।
उक्त मापदण्ड लागू गर्दा थप ४ रोपनी १४ आना २ पैसा २.९५ दाम सरकारी बगर जग्गा विद्यालयकै नियन्त्रणमा रहेको सरकारी निष्कर्ष छ ।
नापी नक्सा, जग्गाधनी पुर्जा र वास्तविक भोगचलनबीचको अन्तर, साथै सार्वजनिक कुलो र नदी किनारको सरकारी जग्गा विद्यालय हाताभित्र समेटिनुले अतिक्रमण भएको दाबी सरकारी पक्षको छ ।
पूर्वसांसद तथा नेपाली कांग्रेस नेता उमेश श्रेष्ठले सन् १९८१ मा स्थापना गरेको लिटल एन्जल्स स्कुल नेपालका प्रतिष्ठित निजी विद्यालयमध्ये एक मानिन्छ ।
जावलाखेलबाट सानो आकारमा सुरु भएको विद्यालय पछि हात्तीवनमा विशाल संरचनासहित विस्तार गरिएको थियो ।
हाल विद्यालय परिसरमा फुटबल मैदान, बास्केटबल कोर्ट, टेनिस कोर्ट, अन्तर्राष्ट्रिय स्तरको स्विमिङ पुल, होस्टल, स्वास्थ्य सेवा तथा सयभन्दा बढी विद्यालय बस सञ्चालनमा छन् ।
विद्यालयले नर्सरीदेखि कक्षा १२ सम्मका कक्षा सञ्चालन गर्नुका साथै क्याम्ब्रिज ए–लेभल र काठमाडौं विश्वविद्यालयसम्बद्ध विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।
उत्कृष्ट शैक्षिक नतिजा, अनुशासन र खेलकुद गतिविधिका कारण चर्चित रहेको यो विद्यालय मध्यम तथा उच्च वर्गका परिवारबीच लोकप्रिय मानिन्छ ।






















