images
images
  • नागढुंगा सुरुङमार्ग साउन दोस्रो सातादेखि सञ्चालन गर्ने तयारी

    काठमाडाैं । काठमाडौं उपत्यकाको पश्चिमी प्रवेशद्वारमा रहेको बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ ।

    आयोजनाको भौतिक प्रगति करिब ९९ प्रतिशत पूरा भएको हो । केही बाँकी निर्माणका काम सकेर आयोजनलाई सञ्चालनको लागि हस्तान्तरण गर्ने तयारी भएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले जानकारी दिए।

    उनकाअनुसार सुरुङमागै सञ्चालन गर्न पाँच वर्षको लागी चिनियाँ कम्पनी युसिन–एआरटी जेभीलाई ५ वर्षको लागि दिइएको छ ।

    आज प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले गरेको सुरुङमार्गको अनुगमनका क्रममा निर्देशक नेपालले सुरुङमार्गका भौतिक प्रगतिका बारेमा सांसदहरुलाई जानकारी गराएका थिए । सो क्रममा नेपालले सुरुङमार्ग निर्माणमा केही ढिलाई भएको बताए ।

    ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि विभिन्न कारणले चार पटक म्याद थपिँदा थप ३६ महिना समय लागेको उहाँको भनाई छ । २०१९ सेप्टेम्बर २३ बाट शुरु भएको परियोजना २०२६ अप्रिल २५ सम्म म्याद थप गरिएको थियो ।

    करिव २२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा १६ अर्ब रुपैयाँ निर्माण कार्यमा र ६ अर्ब रुपैयाँ जग्गा अधिग्रहणमा खर्च भएको उनले जानकारी दिए । उहाँकाअनुसार वित्तीय प्रगति ९६ प्रतिशत पुगेको छ । सुरुङमार्ग अन्तराष्ट्रिय मापदण्डअनुसार निर्माण भएको दाबी गरिको छ । सुरुङमार्गभित्र अत्याधुनिक प्रविधिहरू जडान गरिएको छ ।

    पावर सप्लाइ, स्मार्ट लाइटिङ, सिसिटिभी निगरानी, रिमोट मोनिटरिङ तथा कन्ट्रोल सिस्टम, स्वचालित भेन्टिलेसन प्रणाली र आधुनिक फायर फाइटिङ प्रणाली जडान गरिएको उहाँले जानकारी दिए । साथै आपतकालीन अवस्थामा सूचना दिन ‘भेरिएबल म्यासेज साइन’, ट्राफिक सिग्नल तथा कन्ट्रोल रुमबाट प्रत्यक्ष निगरानी गर्ने व्यवस्था गरिएको छ ।

    कुल २ दशमलव ६८८ किलोमिटर लम्बाइको यस सुरुङमार्गमा दुईवटा छुट्टाछुट्टै सुरुङ निर्माण गरिएको छ । सुरुङमार्ग सञ्चालनको लागि १ सय ५० जनाको जनशक्ति २४सै घण्टा परिचालन गर्ने तयारी गरिएको छ । सुरुङमार्ग सञ्चालनमा आएपछि बार्षिक करिब ३५ करोड रुपैयाँ राजश्व उठ्ने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images