काठमाडौं। एमाले नेता योगेश भट्टराईले ‘युथ फोर्स’ र ‘अखिल फोर्स’ गठन गरिएकोप्रति आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘युथ फोर्स’ र ‘अखिल फोर्स’ जस्ता संगठनहरू बनाएर अनेरास्ववियु र युवासंघजस्ता संगठनलाई ओझेलमा पार्न खोजिएको बताएका हुन् ।
नेता भट्टराईले समाजमा आतंकको आभाश दिने र युवाहरूलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्धत ‘बाहुबली’ समूहहरू तत्काल खारेज गरिनुपर्ने बताएका छन् ।
“ऐतिहासिक र गौरवशाली इतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलन र क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका, हजारौँ युवाहरूलाई राजनीतिक र वैचारिक शिक्षामार्फत पार्टी र सामाजिक कामको नेतृत्व गर्नसक्ने क्षमतामा पुर्याएका अनेरास्ववियु र युवासंघ जस्ता संगठनलाई ओझेलमा रखेर निर्माण गरिएका युथ फोर्स अखिल फोर्सको औचित्य के छ रु समाजमा आतंकको आभास दिने र युवाहरूलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्धत यस्ता बाहुबली समूहहरू तत्काल खारेज गर्नु पर्दछ,” उनले लेखेका छन् ।
बहुदलीय जनवादको सिद्धान्तलाई अनुसरण गरेको एमालेका लागि यस्ता प्रवृत्ति नसुहाउने उनको भनाइ छ । उनले यस्ता गतिविधिमाथि तत्काल रोक लगाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल आग्रहसमेत गरेका छन् ।
नेता भट्टराई भनाई जस्ताको त्यस्तै :
‘ऐतिहासिक र गौरबशाली ईतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलन/ क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका, हजारौ युवाहरुलाई राजनीतिक/ बैचारिक शिक्षा मार्फत पार्टी र सामाजिक कामको नेतृत्व गर्नसक्ने क्षमतामा पुर्याएका अनेरास्वबियू र युवासंघ जस्ता संगठनलाई ओझेलमा रखेर निर्माण गरिएका युथ फोर्स अखिल फोर्सको औचित्य के छ ? समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्द्त यस्ता बाहुबली समुहहरु तत्काल खारेज गर्नु पर्दछ । अनेरास्वबियू र युवासंघ जस्ता संगठनलाई सहि नीति र नेतृत्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर गर्नु पर्दछ । के काम हुन्छन जो युवासंघ र अनेरास्वबियूले गर्न नसक्ने तर युथफोर्स र अखिलफोर्सले मात्र गर्नसक्ने ? पञ्चायत अखिलले नै फाल्यो । २०४८ पछिको कांग्रेसको राज्य आतंकसँग अखिल नै लड्यो । माओवादीको १० बर्षे हिंसाको प्रतिबाद यिनै अखिल र युवासंघले गरे । पार्टीभित्रका गुटहरुमा बैचारिक चरित्र सकिंदै जाँदा एक आर्काका बिरुद्ध बाहुबली जत्था प्रयोग गर्न खोजेको हो ? यदि हो भने हामी आफ्नो र कम्युनिस्ट आन्दोलनको चिहान आँफैले खनिरहेको स्वीकार गर्नु पर्दछ । शान्तिपूर्ण र बैधानिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, कानुनी राज्यलाई स्वीकार गर्ने, फरकमतलाई फक्रनदिने जस्ता बिशेषता सहितको बहुदलीय जनबादको सिद्धान्तलाई अनुशरण गरेको नेकपा एमालेका लागि यो सुहाउने काम होईन । तसर्थ: यस्ता गतिबिधिमाथि तत्काल रोक लगाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समक्ष हार्दिक अनुरोध गर्दछु ।’
प्रकाशित मिति २०७८ साउन ९ गते शनिवार ०१:३१