images
images
  • काठमाडाैंमा शुक्रबारदेखि नदीकिनारका बस्ती हटाइँदै

    काठमाडौं ।

    काठमाडौं जिल्ला प्रशासन कार्यालयले नदी किनार अतिक्रमण गरी बसोबास गर्दै आएका बस्ती हटाउन शुक्रबारदेखि डोजर चलाउँदै छ ।

    प्रशासनले सूचना जारी गर्दै वैशाख १८ गते बिहान ७ बजेदेखि जिल्लाभर विभिन्न स्थानबाट एकैपटक बस्ती खाली गराउने अभियान सुरु हुने जानकारी दिएको हो।

    सूचनामा जोखिमयुक्त क्षेत्रमा बनेका घरटहरा तत्काल खाली गर्न आग्रह गरिएको छ। साथै बिरामी, अशक्त, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र बालबालिकालाई प्राथमिकताका साथ सुरक्षित स्थानमा सार्न अनुरोध गरिएको छ।

    प्रशासनले वैशाख १७ गते साँझसम्म घरटहरा पूर्ण रूपमा खाली गरिसक्न निर्देशन दिएको छ। घरभित्र रहेका लत्ताकपडा, पशुचौपाया तथा अन्य सामग्री सुरक्षित रूपमा बाहिर निकाल्न र आवश्यक परे सुरक्षाकर्मीको सहयोग लिन सकिने जनाएको छ।

    उद्धार तथा स्थानान्तरणका क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रहरीबाट आवश्यक सहयोग उपलब्ध गराइने उल्लेख गरिएको छ।

    यस्तै, वास्तविक भूमिहीन परिवारको पहिचान गरी दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायमार्फत पहल गरिने तथा अस्थायी बसोबासको व्यवस्था गरिने प्रशासनले जनाएको छ।

    झूटा विवरण पेश गरी भूमिहीनको दाबी गर्नेहरूमाथि भने कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images