काठमाडौँ – नेपाल सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने तयारी अघि बढाएको छ।
हालसम्म परराष्ट्र मन्त्रालयका कर्मचारी तथा सत्तारुढ दलको सिफारिसका आधारमा हुँदै आएको नियुक्ति प्रक्रियालाई परिवर्तन गर्दै सरकार नयाँ अभ्यासतर्फ अघि बढेको हो।
परराष्ट्रमन्त्री शिशिर खनालको सचिवालय स्रोतका अनुसार केही राजदूत पदका लागि खुला विज्ञापन आह्वान गरिनेछ र प्रतिस्पर्धाबाट योग्य व्यक्तिलाई छनोट गरी नियुक्त गरिने योजना बनाइएको छ। सोमबार मन्त्रालयमा आयोजित सहसचिवहरूको बैठकमा मन्त्री खनालले यसबारे धारणा सार्वजनिक गर्दै खुला प्रतिस्पर्धाको अवधारणा अघि सारेका थिए।
स्रोतका अनुसार प्रधानमन्त्रीसँग समेत सहमति भइसकेको र छिट्टै विज्ञापन खुलाउने तयारी भइरहेको छ। मन्त्रालयका एक अधिकारीले अर्को साताभित्रै दरखास्त आह्वान हुन सक्ने संकेत दिएका छन्। हाल प्रचलित “राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५” अनुसार कुल राजदूत पदमध्ये कम्तीमा ५० प्रतिशत क्यारियर कूटनीतिज्ञबाट र बाँकी ५० प्रतिशत राजनीतिक नियुक्तिबाट पूर्ति गर्नुपर्ने व्यवस्था छ। तर, सरकारले पारदर्शिता र योग्यता आधारित चयन प्रणालीलाई प्राथमिकता दिँदै नयाँ अभ्यास सुरु गर्न लागेको हो।
नेपालका हाल ४४ वटा विदेशस्थित नियोगमध्ये १७ राजदूत पद रिक्त छन्। भारत, चीन, अमेरिका र बेलायतजस्ता प्रमुख मुलुकमा समेत राजदूत पद खाली रहेको छ। यसअघि विभिन्न चरणमा राजदूतहरू फिर्ता बोलाइएपछि यी पद रिक्त भएका हुन्।
यसैबीच, आगामी जुलाईसम्म थप ६ राजदूतको कार्यकाल सकिन लागेकाले सरकारसँग एकैपटक २४ जना राजदूत नियुक्त गर्ने अवसर आउनेछ।
यसले खुला प्रतिस्पर्धाबाट नियुक्तिको अभ्यासलाई थप व्यापक बनाउने अपेक्षा गरिएको छ। सरकारको यो पहलले कूटनीतिक क्षेत्रमा पारदर्शिता, प्रतिस्पर्धा र योग्यताको आधारमा नेतृत्व चयन गर्ने नयाँ अभ्यासको सुरुवात हुने विश्वास गरिएको छ।






















