काठमाडौं । सरकारी ठेक्का प्रणालीमा प्रतिस्पर्धा र पारदर्शिताको दाबी भइरहँदा इ–बिडिङ प्रणालीभित्रै संगठित गिरोहले ‘डिजिटल चलखेल’ गरेर अर्बौं रुपैयाँका ठेक्का कब्जा गर्दै आएको खुलासा भएको छ।
केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार गिरोहले बिड हाल्ने अन्तिम समयमा प्रणालीमा अनधिकृत पहुँच बनाएर प्रतिस्पर्धी कम्पनीका प्रस्ताव हेर्ने र त्यसअनुसार आफ्नो बिड संशोधन गर्ने रणनीति अपनाउँदै आएको थियो।
यस प्रकरणमा विक्रम पाण्डेसँग सम्बन्धित कालिका कन्स्ट्रक्सनसहित विभिन्न निर्माण कम्पनीका व्यवसायी पक्राउ परेका छन्। पक्राउ पर्नेमा टंककुमार श्रेष्ठ, अमृत बोहरा लगायत रहेका छन् भने यसअघि नै अन्य केही व्यवसायीहरू पनि नियन्त्रणमा लिइसकिएको छ। अनुसन्धानले यो सानो समूह नभई संगठित नेटवर्क रहेको अनुमान गरेकाे छ ।
घटनाको सुरुवात रौताहा कन्स्ट्रक्सनको उजुरीबाट भएको थियो। सार्वजनिक खरिद अनुगमन कार्यालयको छानबिनमा आफ्नै युजर आईडी प्रयोग गरेर बिड मेटिएको देखिए पनि एउटै समयमा विभिन्न आईपी एड्रेसबाट लग–इन भएको तथ्य भेटिएको छ।
विदेशसम्मबाट पहुँच देखिएकाले ‘कन्ट्रोल्ड एक्सेस’ मार्फत प्रणालीमा हस्तक्षेप गरिएको आशंका गरिएको छ। अझ गम्भीर कुरा के छ भने एउटै डिभाइस वा आईपी एड्रेसबाट विभिन्न कम्पनीका कागजात अपलोड गरिएको भेटिएको छ । मिलेमतो र प्रणालीमा पहुँच रहेको अनुमान गरिएकाे छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड को करिब १० अर्ब रुपैयाँ बराबरको परियोजनासमेत अनुसन्धानको दायरामा आएको छ।
प्रकरणमा संलग्नमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा चलाइँदैछ। नेपाल प्रहरी साइबर ब्यूरो र सीआईबीले संयुक्त रूपमा अनुसन्धान अघि बढाइरहेका छन्।
यो घटनाले सरकारी इ–बिडिङ प्रणालीको सुरक्षा र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ।विशेषज्ञहरूका अनुसार यदि प्रतिस्पर्धीको बिड हेर्न, मेट्न वा संशोधन गर्न सकिने अवस्था छ भने यो केवल ह्याकिङ मात्र नभई सम्पूर्ण प्रणालीमाथिको नियन्त्रणको संकेत हो।
अनुसन्धान जारी रहेकाले यसअघि पनि यस्तै तरिकाले ठेक्का हत्याइएको थियो कि भन्ने प्रश्न उठेको छ। प्रकरणले प्रविधिको दुरुपयोग, प्रणालीगत कमजोरी र सम्भावित राजनीतिक–व्यावसायिकबारे थप खुलासा हुने सक्ने आशंका गरिएकाे छ ।






















