images
images
  • सुकुम्बासी पहिचान अभियान : ४५० परिवारसँग आफ्नै जग्गा

    काठमाडौं । राजधानीका नदी किनार र सार्वजनिक जग्गा अतिक्रमण गरी बसोबास गर्दै आएका सुकुम्बासीहरूको पहिचान अभियानका क्रममा तथ्य सार्वजनिक भएको छ। सरकारी अनुसन्धानमा हालसम्म ४५० परिवारसँग देशका विभिन्न स्थानमा आफ्नै नाममा जग्गा रहेको फेला परेको छ।

    उपत्यकाका सुकुम्बासी बस्ती हटाउने अभियानसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतको भूमि व्यवस्थापन विभागले वास्तविक भूमिहीन र नक्कली सुकुम्बासी छुट्याउने कामलाई तीव्र बनाएको हो।

    विभागका महानिर्देशक शिवप्रसाद रेग्मीका अनुसार विभिन्न मालपोत कार्यालयको अभिलेख खोतल्दा उल्लेखित परिवारसँग अन्यत्र जग्गाजमिन रहेको पुष्टि भएको छ भने थप अनुसन्धान जारी रहेको छ।

    सहरी विकास मन्त्रालयले उपलब्ध गराएको ३ हजार ४९६ परिवारको सूचीका आधारमा देशभरका १३५ मालपोत कार्यालयमार्फत डिजिटल तथा भौतिक विवरण जाँच भइरहेको छ। यद्यपि, १०१ परिवारको नागरिकता नम्बर नै नखुलेका कारण उनीहरूको विवरण पत्ता लगाउन चुनौती देखिएको छ।

    बस्ती हटाउने क्रममा विस्थापित भएका र वास्तविक भूमिहीन हुन सक्ने आशङ्कामा हालसम्म ९४३ परिवारलाई अस्थायी ‘होल्डिङ सेन्टर’ मा राखिएको छ। कीर्तिपुरस्थित राधे–राधे सत्सङ्ग हल र बालाजु क्षेत्रका होटलहरूमा उनीहरूको व्यवस्थापन गरिएको छ, जहाँ निःशुल्क भोजन र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइएको छ।

    सरकारले आगामी १५ दिनभित्र विस्तृत छानबिन गरी वास्तविक सुकुम्बासीलाई मात्र स्थायी बसोबासको व्यवस्था गर्ने तयारी गरेको छ। पहिचान भएका परिवारलाई इचङ्गुनारायणस्थित अपार्टमेन्टमा स्थानान्तरण गरिनेछ भने आवश्यक परे अन्य विकल्प पनि खोजिने जनाइएको छ।

    उपत्यकाका थापाथली, मनोहरा, सिनामंगल, विष्णुमती, बल्खु, कपनलगायत २२ स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी बसोबास हुँदै आएको पाइएको छ। सरकार अब नक्कली सुकुम्बासी हटाउँदै वास्तविक भूमिहीनको व्यवस्थापन र सार्वजनिक सम्पत्तिको संरक्षणमा कडाइ गर्ने तयारीमा छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images