images
images
  • सहकारी संकटमा सरकारको ब्रेकथ्रु : बचत फिर्ताका लागि चक्रीय कोष स्थापना

    काठमाडाैं ।
    सहकारी पीडितको बचत रकम फिर्ता गर्न सरकारले ‘चक्रीय कोष’ स्थापना गर्ने भएको छ ।

    ‘समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालनसम्बन्धी कार्यविधि, ०८३’ राजपत्रमार्फत सार्वजनिक गर्दै सरकारले पीडित बचतकर्तालाई राहत दिने लक्ष्यसहित नयाँ व्यवस्था अघि सारेको हो ।

    सरकारले सार्वजनिक गरेको कार्यविधिअनुसार कोषमा नेपाल सरकारबाट रकम जम्मा गरिनेछ भने समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति, ऋण असुली, सेयर रकम तथा अपचलनमा संलग्न सञ्चालक, व्यवस्थापक र सम्बन्धित व्यक्तिहरूबाट असुल गरिएको रकम समेत उक्त कोषमा राखिनेछ । आवश्यक परे उनीहरूको व्यक्तिगत सम्पत्ति खोजी गरी लिलामी गरेर समेत रकम संकलन गर्ने व्यवस्था गरिएको छ ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले बचतकर्ताको रकम फिर्ता सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै छिट्टै कार्यान्वयन सुरु हुने जानकारी दिएकी छन् । उनका अनुसार ऋण असुली, सम्पत्ति लिलामी तथा अन्य प्रक्रिया पूरा गरी बचत फिर्ता अभियान अगाडि बढाइनेछ ।

    कार्यविधिअनुसार बचत रकम फिर्ता गर्नुअघि प्रत्येक बचतकर्ताको विवरण संकलन गरिनेछ । बचत र ऋणको यकिन गरी सन्तुलन मिलाइनेछ भने ऋण लिएका सदस्यले ऋण चुक्ता नगरेसम्म बचत रकम फिर्ता नहुने प्रावधान राखिएको छ । साथै, अदालतमा विचाराधीन मुद्दासँग सम्बन्धित बचत रकम अन्तिम फैसला नभएसम्म फिर्ता गरिने छैन ।

    सरकारले साना बचतकर्तालाई पहिलो प्राथमिकता दिने नीति लिएको छ । विशेषगरी एकल महिला, ६० वर्षमाथिका ज्येष्ठ नागरिक, दलित, आदिवासी जनजाति तथा अपाङ्गता भएका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर रकम फिर्ता गरिने जनाइएको छ ।

    हाल देशभरका ३५७ सहकारी संस्थामा करिब १४ लाख बचतकर्ता प्रभावित भएका छन् भने उनीहरूको करिब दुई खर्ब ७५ अर्ब रुपैयाँ बराबरको बचत जोखिममा परेको छ । समस्याग्रस्त घोषणा भएका २३ सहकारीमा मात्रै ६२ हजारभन्दा बढी बचतकर्ता प्रभावित छन् ।

    यसअघि सरकारले एक लाख रुपैयाँसम्मका साना बचतकर्तालाई रकम फिर्ता गर्ने योजना अघि बढाए पनि विवादका कारण कार्यान्वयन हुन सकेको थिएन । नयाँ कार्यविधिमार्फत बचत फिर्ता गर्ने तयारी गरिएको हो ।

    सरकारले यस योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायहरूसँग समन्वय गर्दै छिट्टै बचत फिर्ता प्रक्रिया सुरु गर्ने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images