काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक आज दिउँसो १ बजे पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस्दै छ ।
बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले तयार पारेको विशेष निर्णय प्रस्ताव पेस हुने कार्यक्रम रहेको छ । बैठकले नेताहरूको कार्यविभाजन, विभागीय जिम्मेवारी बाँडफाँट तथा सचिवालय र केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने विषयमा ठोस निर्णय गर्ने तयारी गरिएको छ ।
साथै चुनावी समीक्षा प्रतिवेदन अनुमोदन र सांगठनिक संरचना टुंग्याउने एजेन्डा पनि प्रमुख रूपमा रहनेछ ।
सांगठनिक सन्तुलन कायम गर्न साविक माओवादी केन्द्र र एकीकृत समाजवादीबीच जिम्मेवारी बाँडफाँट गर्ने मापदण्ड अपनाइने जनाइएको छ । प्रदेश इन्चार्ज, सह–इन्चार्जदेखि विभाग प्रमुखसम्मको जिम्मेवारी वरिष्ठ नेताहरूलाई दिइने तयारी छ ।
बैठकले १२५ सदस्यीय सचिवालय र ६०१ सदस्यीय केन्द्रीय कार्यसमिति पूर्णता दिने, तल्लो तहमा एकता प्रक्रिया अघि बढाउने तथा जनवर्गीय संगठनको एकीकरण गर्ने विषयमा पनि निर्णय लिने जनाइएकाे छ । त्यसैगरी, आगामी कार्यदिशा तय गर्दै ६ महिनाभित्र एकता महाधिवेशन सम्पन्न गर्ने लक्ष्यसहित अधिवेशन प्रक्रिया सुरु गर्ने र मिति तय गर्ने विषयमा छलफल हुने जनाइएकाे छ ।






















