काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिनुलाई अक्षम्य अपराधको संज्ञा दिदै बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गरेका छन् ।
अध्यक्ष ओलीले माधव नेपाल पक्षतर्फ लक्षित गर्दै उनीहरू पार्टीमा आए आममाफी दिने बताए । पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सबैलाई पार्टीमा फर्किन र मिलेर काम गर्न आग्रह समेत गरेका छन्।
ओलीले भनेका छन्, ‘ बाटो बिराएका भड्किएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड ।’
ओलीले अब विवाद छाडेर पार्टी एकताको कुरा गर्न पनि आह्वान गरे । ‘हामी को कहाँ छौँ, त्यो कुरा छाडिदिऊँ देश र जनताको कुरा गरौँ,’ उनले भने, ‘अब विवाद छाडौँ, पार्टी एकताको कुरा गरौँ ।’
झण्डै एक घण्टा लामो सम्बोधन गरेका ओलीले एमालेलाई कसैले रोक्न नसक्ने बताए । पुष्पलालले रोपेको र मदन भण्डारीले स्याहार सुसार र प्रवलीकरण गरेको भन्दै उनले भने, ‘यो कर्कलोको पातको पानी होइन, कसैले हल्लाउँदैमा भुँइमा खस्छ ।’
यस्तै, ओलीले आफ्नो पार्टी नेतृत्वको सरकार ढाल्न दुनियाँ लाग्दा पनि खुट्टा समेत हल्लाउन नसकेपछि अदालतको परमादेशबाट हराइएको बताए । त्यसका बाबजुद एमाले स्थानीय तह, प्रदेश र संघीय संसदमा प्रमुख शक्ति रहेको भन्दै उनले भने, ‘देशको प्रमुख राजनीतिक शक्ति हो, लोकतान्त्रिक आन्दोलनको प्रमुख राजनीतिक धार हो ।’ ओलीले सबैलाई पार्टीमा फर्किन र मिलेर काम गर्न आग्रह गरेका छन्।
तत्कालीन नेकपा रहँदा साधारण सदस्यबाटै आफूलाई निस्कासन गरिएको स्मरण गर्दै ओलीले भने, ‘अब त्यो बाटोमा नजाऊँ, हामी सबै एकसाथ अघि बढौँ ।’


विश्व खबर 


















