काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । बैठक आज दिउसो ३ बजे ललितपुरको च्यासस्थित तुलसिलाल स्मृति प्रतिष्ठानमा बस्नेछ ।
पार्टीको ह्वीप उल्लंघन गर्ने २२ सांसदलाई हिजो सोधिएको स्पष्टीकरणबारे आज थप छलफल हुने बताईएको छ ।पार्टी निर्णय विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई एमालेले हिजो स्पष्टीकरण पत्र पठाएको छ ।
एमालेले संसदीय दलको विधान विपरीत पार्टीविरुद्ध विभिन्न भेला आयोजना गर्ने र गुटगत गतिविधिमा लागेको भन्दै माधव नेपाल समूहका २२ जना सांसदलाई स्पष्टीकरण सोधेको हो ।के, कति कारणले देउवालाई विश्वासको मत दिनु पर्ने वाध्यता परेको भनि पत्रमा प्रश्न सोधिएको छ । यसरी सोधिएका सांसदहरुमा ओली पक्षकै आठ सांसदहरु पनि रहेका छन् ।
यसअघि बुधबारको बैठकले चार वटा विशेष प्रस्ताव पारित गरेको थियो । बैठकले सर्वोच्च अदालतको फैसलाले पार्टी स्वतन्त्रता र दलीय प्रणालीमाथि प्रहार भएको निष्कर्ष निकाल्दै कानुनको अपख्याबाट सरकार बनाइएको ठहर गरेको थियो । सर्वोच्चको फैसला संविधान र जनताको चाहना विपरीत भएको निष्कर्ष निकाल्दै बैठकले त्यसबारे जनता माझ जाने प्रस्ताव पनि पारित गरेको थियो ।
केपी शर्मा ओली नेतृत्वको सरकारले घेरबन्दीकाबीच पनि ऐतिहासिक काम गरेको ठहर गरेको निष्कर्ष निकालेको बैठकले पछिल्लो राजनीतिक अवस्थाबाट निरास नहुन सम्पूर्ण कार्यकर्ता तथा शुभ चिन्तकलाई आग्रह गरेको छ । त्यस्तै आफूहरू फेरि पुरानै ठाउँमा ‘कम्ब्याक’ हुने बैठकले निष्कर्ष निकालेको थियो ।


विश्व खबर 


















