images
images
  • एमाले बैठक: देउवालाई मत दिनेहरू पार्टीमा नरहने

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने दोहोर्‍याएको छ ।पार्टीको निर्णय विपरीत ज–जसले विश्वासको मत दिन्छन्, उनीहरु पार्टीमा रहन नसक्ने ओली पक्षको घोषणा छ ।

    सर्वोच्च अदालतको २८ असारको फैसलापछि संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।

    एमालेले पुनःस्थापित संसदको पहिलो बैठकमै विश्वासको मत लिने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावले धेरै प्रश्नहरू जन्माएको ठहर गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले एमाले विभाजनलाई औपचारिकता दिन हतार-हतार विश्वासको मत लिन खोजिएको ठहर गरेको हो ।

    संसद अधिवेशनको पहिलो दिनको बैठकमा औपचारिकता पूरा गर्ने परम्परा भएपनि एमाले एकतावद्ध भइहाल्छ कि भन्ने मनसायले हतार–हतार विश्वासकोमत लिन खोजेको ओली पक्षका नेताहरुको निष्कर्ष छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले जनमतबाट नभई फरक विधि (परमादेश)बाट आएको सरकारलाई पार्टीको समर्थन नहुने दोहोर्‍याएको छ ।

    शुक्रबार नै बसेको बैठकले यो सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको स्मरण गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘नेकपा एमालेको संस्थागत निर्णयभन्दा बाहिर रहेर आफ्नो पार्टीको सरकारलाई ढलाएर बनेको सरकार या प्रधानमन्त्रीको पक्षमा मत हालिसकेपछि ती साथीहरु पार्टीमा रहनुहुन्न । यो चाहिं प्रष्टै हो ।’

    बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले यसअघि नै पार्टीले प्रतिपक्षमा रहने र सरकारलाई समर्थन नगर्ने भनिसकेकाले विश्वासको मत नदिन सांसदलाई निर्देशन दिइएको बताए । सम्भव भएसम्म अरु दलसँग पनि सोही आग्रह गरिने उनले बताए ।

    ज्ञवालीले १० बुँदे सहमति कार्यन्वयन गरी पार्टी एकताको रक्षाका लागि निरन्तर प्रयास गरे पनि आज कार्यदलसँगको भेटमा माधव नेपालले त्यसलाई अश्वीकार गरेको जानकारी दिए । उनले माधव नेपालले देउवा सरकारलाई विश्वासको मत दिने जानकारी आफूहरूलाई गराएको बताए ।

    पार्टीको निर्णय विपरित देउवालाई विश्वासको मत दिने सांसदहरु आजको दिनदेखि एमाले नरहने ज्ञवालीले बताए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images