दमक-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) देश दौडाहापछि शनिबार (फागुन ९) पुनः झापा फर्किएका छन् । झापा फर्किएलगत्तै उनले आफ्नो निर्वाचन क्षेत्रका मतदाता भेटघाट (घरदैलो) थालेका छन् ।
रास्वपाले हालै सुदूरपश्चिम र कर्णाली प्रदेशमा आयोजना गरेको ‘परिवर्तन उद्घोषसभा’मा उनी सहभागी भएका थिए । त्यसपछि ‘स्वास्थ्यमा समस्या’ देखिएकाले उनी सुर्खेतबाट काठमाडौं फर्किएका थिए । हाल स्वास्थ्यमा सुधार आएको र अब फेरि उनी पूर्ण रूपमा सक्रिय भएका बालेनको सचिवालयले जनाएको छ ।
उनको चुनावी गतिविधि विशेष गरी झापा–५ अन्तर्गत कमल गाउँपालिकामा केन्द्रित छ । सचिवालयका अनुसार, बालेन अब केही दिन झापामै रहनेछन् । उनले मतदातासँग प्रत्यक्ष संवाद गर्ने रास्वपा केन्द्रीय सदस्य विरोध सुवेदीले जानकारी दिए ।
निर्वाचनको सन्दर्भमा रास्वपाले आयोजना गरेको सभामा सहभागी हुने पूर्वकार्यतालिका भए पनि अन्तिम समयमा कार्यक्रम रोकेर बालेनले आफ्नै ढंगले घरदैलो अभियान सुरु गरेका हुन्। उनी झापाको विभिन्न बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवादमा जुटेका छन्।
घरदैलोका क्रममा बालेनले स्थानीय मुद्दा रोजगार, शिक्षा, स्वास्थ्य सेवा, कृषि उत्पादनको बजार व्यवस्थापन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर मत मागिरहेका छन्। उनले ‘दलभन्दा पनि नीति र निष्ठा महत्वपूर्ण’ भएको सन्देश दोहोर्याउँदै पारम्परिक दलहरूप्रति असन्तुष्ट मतदातालाई आकर्षित गर्ने रणनीति अपनाएको देखिन्छ।
रास्वपाको सभा किन स्थगित गरियो भन्नेबारे औपचारिक धारणा सार्वजनिक भइसकेको छैन। तर, राजनीतिक वृत्तमा यसलाई रणनीतिक निर्णयका रूपमा हेरिएको छ। स्थानीय स्तरमा प्रत्यक्ष सम्पर्कलाई प्राथमिकता दिने उद्देश्यले उनले पार्टी–केन्द्रित कार्यक्रममा भन्दा आफ्नै चुनावी अभियानलाई जोड दिएका विश्लेषकहरूको भनाइ छ।
झापामा चुनावी प्रतिस्पर्धा तीव्र बन्दै जाँदा बालेनको घरदैलो अभियानले कस्तो प्रभाव पार्छ भन्ने प्रश्न अहिले राजनीतिक चासोको विषय बनेको छ।























