images
images
  • ‘हेभीवेट’ भिडन्त हुने क्षेत्रमा सुरक्षा थ्रेट, प्रहरीले उच्च तहका अधिकृत खटाउने

    काठमाडौं- ‘हेभीवेट’ भिडन्त हुने जिल्लाहरुमा प्रहरी वरिष्ठ उपरीक्षकहरूको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गर्नेगरी प्रहरीले आन्तरिक छलफल गरिरहेको छ ।

    आन्तरिक छलफलमा अधिकृतहरुले झापा, सर्लाही र दोलखा जिल्लालाई निर्वाचन सुरक्षाको दृष्टिकोणले ‘थ्रेट’ भएको जिल्लाको रुपमा लिएका छन् । तराई-मधेसका जिल्लाहरूलाई पनि चुनौतीपूर्ण जिल्ला विश्लेषण गरेर त्यहाँ उच्च तहका अधिकृतहरु खटाउनेगरी छलफल भइरहेको प्रहरी प्रधान कार्यालयले बताए ।

    सबैभन्दा चुनौतीपूर्ण जिल्लाको रुपमा झापालाई लिइएको छ । झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौं महानगरका पूर्वमेयर बालेन्द्र शाह (बालेन) प्रतिस्पर्धामा छन् । झापाबाटै निवर्तमान सभामुख देवराज घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा राना मगर उम्मेदवार छन् ।

    एमाले र रास्वपाको ठुलो शक्ति संघर्ष हुने आँकलन गरेर झापामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा प्रहरी परिचालन गर्नेबारे छलफल भइरहेको छ ।

    त्यस्तै, सर्लाहीमा पनि एसएसपी खटाउने तयारी गरिएको छ । सर्लाही–४ बाट नेपाली कांग्रेसका सभापति गगन थापा र रास्वपाका उम्मेदवार अमरेशकुमार सिंह मुख्य प्रतिस्पर्धामा छन् । सो क्षेत्रबाट यसअघि पटक-पटक सिंहले निर्वाचन जित्दै आएका थिए । सर्लाहीबाटै नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

    चुनौतीपूर्ण जिल्लामा एसएसपी दर्जाका अधिकृतले सुपरभिजन गर्नेबारे छलफल भइरहेको प्रहरी प्रवक्ता (डीआईजी) अबिनारायण काफ्लेले बताए । उनले भने, ‘चुनौतीको विश्लेषण गरेर उच्च दर्जाका अधिकृतले अनुगमन गर्नेबारे योजना बन्दैछ ।’

    निर्वाचनको सुरक्षामा डीएसपी र एसपीहरु फिल्डमा परिचालन हुने र त्यसभन्दा माथिका अधिकृतहरुले सुपरभिजन गर्ने काफ्लेले बताए ।

    डीएसपी इन्चार्ज हुने जिल्लामा सुरक्षा थ्रेट देखिएमा एसपी परिचालन गर्ने तयारी भइरहेको छ । डीएसीले कमाण्ड गर्ने तर सुरक्षा संवेदनशीलताको दृष्टिले सामान्य देखिएका दुईवटा जिल्ला हेर्नेगरी एसपीलाई सुपरभिजनको जिम्मेवारी दिने प्रहरी प्रधान कार्यालयको तयारी छ ।

    सुरक्षा संवेदनशीलताको दृष्टिले दोलखालाई चुनौतीपूर्ण जिल्लामा राखिएको छ । दोलखामा एमालेका केन्द्रीय सदस्य पार्वत गुरुङ, नेपाली कम्युनिस्ट पार्टीका विशाल खड्का र नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीको बिचमा प्रतिस्पर्धा हुँदैछ । यसअघिको निर्वाचनमा बुथकब्जा र झडप हुने इतिहास भएको हुनाले त्यहाँ पनि उच्च तहका प्रहरी अधिकृतले ‘सुपरभिजन’ गर्नेबारे छलफल भइरहेको बागमती प्रदेशका डीआईजी दीपक रेग्मीले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images