काठमाडौं- नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमानी कायम गरेको छ । बुधबार सुनको मूल्य तोलामै ३ लाख १८ हजार नाघेको छ । जुन हालसम्मकै उच्च हो ।
चालू आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनको मध्यतिर झन्डै २ लाखको हाराहारीमा रहेको सुनको मूल्य माघको मध्यसम्म आइपुग्दा ३ लाख १८ हजार रुपैयाँ नाघ्दै नयाँ कीर्तिमान कायम गरेको छ ।
यो ६ महिनाको अवधिमा सुनको मूल्यमा देखिएको वृद्धिले लगानीकर्ताहरूलाई मालामाल बनाएको छ । २०८२ साउन १४ गते छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९४ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।
त्यसको एक महिनापछि भदौ १३ गते सुनको मूल्य बढेर प्रतितोला २ लाख ६ सय पुग्यो । एक महिनाको अन्तरालमा तोलामा ६ हजार रुपैयाँको वृद्धि देखियो । बजारमा १ लाख ९४ हजारबाट २ लाखको मनोवैज्ञानिक बिन्दु पार गर्नु नै यो महिनाको मुख्य विशेषता रह्यो ।
त्यसपछि दशैं तिहारको मुखमा सुनको मूल्यले गति लियो । असोज १२ गते आइपुग्दा सुन प्रतितोला २ लाख २३ हजार २ सय रुपैयाँ पुग्यो । भदौको तुलनामा यो महिना एकै पटक २२ हजार रुपैयाँले मूल्य बढ्यो । चाडपर्वको सिजनमा माग बढ्नु र अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरताले यहाँ ठूलो भूमिका खेलेको देखिन्छ ।
त्यस्तै, कार्तिक १४ गते सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार पुग्यो । असोजको तुलनामा यो १५ हजार रुपैयाँको वृद्धि हो । यो समयसम्म लगानीकर्ताहरूले राम्रो प्रतिफलको महसुस गर्न थालिसकेका थिए । साउनमा किन्नेले कार्तिकसम्म आइपुग्दा तोलामा ४४ हजारभन्दा बढी नाफा सुरक्षित गरिसकेका थिए ।
मंसिर १४ गतेसम्म आइपुग्दा सुनको मूल्य थप आकाशियो । त्यसबेला सुनको भाउ प्रतितोला २ लाख ५२ हजार पुग्यो । कार्तिकको तुलनामा १३ हजार रुपैयाँको वृद्धि भयो । बिहेको लगन सुरु हुने बेलामा सुनको भाउ साढे २ लाख नाघेपछि बजारमा गहनाको मागमा केही सुस्तता आए पनि लगानीकर्ताको मनोबल भने उच्च थियो ।
पुस १४ गते सुनको मूल्य प्रतितोला २ लाख ७० हजार कायम भयो । एक महिनामै १७ हजारको वृद्धि भयो । यो बिन्दुसम्म आइपुग्दा सुन सर्वसाधारणको पहुँचबाट टाढा हुँदै गएको स्पष्ट भइसकेको थियो ।
सबैभन्दा उच्च वृद्धि पुस र माघको बीचमा देखियो । माघ १४ गते सुनको मूल्य एकै पटक उकालो लाग्दै ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो । एक महिना अगाडी पुसमा २ लाख ७० हजार रहेको सुनको मूल्य एकै महिनामै झन्डै ४९ हजारले बढेर ३ लाख १८ हजार नाघ्यो ।
चालू आर्थिक वर्षको साउनदेखि माघ मध्येसम्म सुनमा लगानी गर्ने लगानीकर्ताहरूले तोलामै एक लाख २४ हजार ४ सय रुपैयाँसम्म नाफा कमाएको देखिन्छ ।


विश्व खबर 



















