images
images
  • चुनावी सुरक्षा : ३६ सय मतदानस्थल अतिसंवेदनशील सूचीमा, कस्तो छ सरकारको तयारी ?

    काठमाडौं- मुलुक निर्वाचनमय बन्दै जाँदा सुरक्षा संवेदनशीलताको विषय गम्भीरताका साथ हेरिन्छ ।

    जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै संविधान र वर्तमान व्यवस्थाअनुुसार मुलुकलाई ट्र्याकमा ल्याउन सरकारले फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन गर्दै छ ।

    आन्दोलनका क्रममा लुटिएका हतियार भागेका आधा जति कैदीबन्दी अझै बाहिरै छन् । चुनावी सुरक्षा चुनौतीका रूपमा यिनै विषयलाई लिइएको छ । त्यसका अलावा सरकारले ३ हजार ६ सय ८० वटा मतदानस्थललाई अति संवेदनशीलको सूचीमा सूचीकरण गरेको छ ।

    सुरक्षा संयन्त्रहरूको सामूहित अध्ययनपछि मतदानस्थल र मतदान केन्द्रको वर्गीकरण गर्दै करिब ११ हजार मतदानस्थलमध्ये सुरक्षाका दृष्टिले एकतिहाइ स्थान अति संवेदनशील सूचीमा समेटिएको जनाएको छ ।

    प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ मतदान केन्द्र तय गरेको छ ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले निर्वाचन सुरक्षाका लागि मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा विभाजन गरिएको बताए । जसमा ४ हजार ४ सय ४२ मतदानस्थल संवेदनशील र २ हजार ८ सय ४५ स्थललाई सुरक्षा सामान्य सूचीमा राखिएको छ । तीन हजार ६ सय ८० वटा मतदानस्थललाई अति संवेदनशीलका रूपमा वर्गीकरण गरिएको छ ।

    यसरी वर्गीकरण गर्दा राजनीतिक दलबीच हुने प्रतिस्पर्धा, संलग्न दलको पकड क्षेत्र, अन्तर्राष्ट्रिय सीमा इलाका, विगतमा संसद्मा सामेल दल, नवउदीयमान शक्तिलगायतबीच हुने प्रतिस्पर्धा, सीमा जोडिएका जिल्लालगायत विषयलाई प्राथमिकता दिइएको प्रहरीले जनाएको छ ।

    त्यस्तै, उच्च हिमाली, हिमाली, पहाडी, तराई, सहरी, सहरोन्मुख र ग्रामीण इलाकालाई समेत जोखिमका आधारमा फरकफरक रूपमा वर्गीकरण गरिएको छ । वर्गीकरणका आधारमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नियमित रूपमा प्रहरी परिचालन गरी सबै मतदानस्थलमा सुरक्षा व्यवस्था मजबुद बनाइसकेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार शान्ति सुरक्षाको विषय लिएर कसैले डर वा त्रास मान्नुपर्ने अवस्था नरहेको उनको जिकिर छ । देशभर शान्ति, सुव्यवस्था र अमनचयन कायम गर्न आवश्यक व्यवस्थाका लागि प्रहरी संगठन सबै सुरक्षा निकायको समन्वयमा अलर्ट भएको छ ।

    निर्वाचन सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरी गरी ३ लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन हुनेछन् । जसमा नेपाली सेनाका ७९ हजार ७ सय २७, प्रहरीका ७१ हजार ६ सय २०, सशस्त्र प्रहरीका ३५ हजार १ सय १६, अनुसन्धान विभागका १ हजार ९ सय कर्मचारी खटाउने सरकारको तयारी छ । -पत्रपत्रिकाबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images