images
images
  • चिसोले जलन र हाइपोथर्मियाका बिरामी बढ्न थाले, दैनिक सयौँको संख्यामा बिरामी

    काठमाडौं– केही दिनदेखि तराई–मधेस क्षेत्रमा अत्यधिक बढेको चिसोले जलन र हाइपोथर्मियाका बिरामी बढ्न थालेका छन् । प्रादेशिक अस्पताल जनकपुरधामलगायत सबैजसो अस्पतालमा जलन र हाइपोथर्मियाका बिरामीहरू बढी संख्यामा आउन थालेका छन् ।  

    अस्पतालका अनुसार दैनिक औसत ४–५ सयको संख्यामा आउनेमध्ये बढी बिरामी चिसोबाट प्रभावित हुनेहरू छन् । तीमध्ये बढी हाइपोथर्मिया र जलनको बिरामी रहेका छन् ।

    हाइपोथर्मिया तथा जलनको समस्या लिएर अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामी गरिब, मजदुर, वृद्ध–वृद्धा, बालबालिका तथा खुला स्थानमा बसोबास गर्ने ग्रामीण क्षेत्रका रहेको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ । अस्पतालका अनुसार अहिले उपचार गराउने आउने बिरामीमध्ये अधिकांशमा हाइपोथर्मिया, जलन, भाइरल निमोनिया, कोल्ड डाइरिया, दमएटैकलगायत अत्यधिक चिसोबाट प्रभावित समस्या रहेका छन् ।

    बाहिरी चिसोको प्रभावले शरीरको तापक्रम कम भएपछि चिसो छल्न आगो ताप्ने क्रममा जलन हुने र लामो समयसम्म चिसोमा बस्दा शरीरको तापक्रम असामान्य रूपमा घटेर हाइपोथर्मियाको समस्या देखिन थालेको चिकित्सकहरूले बताएका छन् ।

    चिकित्सकहरूका अनुसार नवजात शिशु र साना बालबालिका, वृद्ध–वृद्धा, गरिब, दैनिक ज्यालादारी मजदुर र सडकमा बसोबास गर्ने व्यक्ति, दीर्घरोगी (दम, मधुमेह, मुटुरोगी), कुपोषित व्यक्ति र गर्भवती महिला लगायतका बढी हाइपोथर्मियाबाट प्रभावित हुने गरेका छन् । जसमा सबभन्दा बढी वृद्धवृद्धा र नवजात शिशुको संख्या बढी छ । यी समूहमा शरीरको ताप सन्तुलन क्षमता कमजोर हुने भएकाले हाइपोथर्मिया छिटो देखिन सक्छ ।

    के हो हाइपोथर्मिया?

    चिकित्सकका अनुसारअ भनेको शरीरको तापक्रम ३७ डिग्री सेल्सियसभन्दा तल झर्नु हो । लामो समयसम्म अत्यधिक चिसो वातावरणमा रहँदा शरीरले आफूलाई तातो राख्न नसक्दा यस्तो अवस्था आउँछ । तर मधेसतिर दाउरा, कोइला र गुइँठाको बालिएको आगो घरको झ्याल ढोकामा राख्ने कारणले गर्दा त्यसबाट निस्किने धुवाँ र आगोको तापक्रम बाहिर निस्किन नसक्दा पनि हाइपोथर्मियाको अवस्था आउँछ । कुहिरो, चिसो हावा, पर्याप्त न्यानो लुगा नलगाउनु, भिजेको कपडा लगाएर बस्नु, राति खुला स्थानमा सुत्नु तथा पोषणको कमीले पनि हाइपोथर्मिया हुने गरेको पाइएको छ ।

    हाइपोथर्मियाबाट बच्न के गर्ने?

    चिकित्सकहरूका अनुसार हाइपोथर्मियाबाट बच्न घरको झ्याल ढोका बन्द गरेर आगो नबाल्ने, चिसोबाट बच्न न्यानो कपडा लगाउने, विशेष गरी बिहान र राति बाहिर ननिस्कने, आगो ताप्दा अत्यन्त सावधानी अपनाउने, नवजात शिशुलाई जिउमा टाँसेर राखी न्यानो लुगा लगाएर आफ्नो शरीरबाट गर्मी दिने, प्रोटिनयुक्त दाल, गेडागुडी, झोलीय पदार्थ, अण्डा, केरा, तिलको लड्डु र जाउलो लगायतका खाना खानुपर्छ । चिसोले शरीर अकडिएको वा अत्यधिक जाडो लागेको खण्डमा, सास फेर्न गाह्रो भएमा वा बेहोसी (मुर्छा पर्ने) जस्ता समस्या देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जानुपर्छ ।

    अर्कोतर्फ घरभित्र आगो बाल्दा त्यसबाट निस्किने धुवाँ र आगोको अत्यधिक तापले अक्सिजन कम भई कार्बनमोनोअक्साइड ग्याँस उत्पन्न हुँदा श्वास फेर्न कठिन हुने समस्या हुने गरेको छ । यसले गर्दा बेहोसी र हृदयाघात भर्ई ज्यानसम्म जाने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images