काठमाडौं– पश्चिमी वायुका कारणले नेपालको मौसम प्रणालीमा केही बदलाव देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारणले कुनैकुनै प्रदेशमा आकाशको केही भाग बादलले ढाक्ने सम्भावना छ। तराई–मधेसका भूभागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ ।
पश्चिमी वायु भित्रिएसँगै चिसो बढेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार धनगढीको शनिबारको अधिकतम तापक्रम १५.१ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ९.०डिग्री सेल्सियस थियो। आजको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस रहनेछ ।
नेपालगञ्जको शनिबारको अधिकतम तापक्रम १४.६, न्यूनतम तापक्रम ९.० डिग्री सेल्सियस रहेको थियो। आज न्यूनतम तापक्रम १०.६ डिग्री सेल्सियस रहनेछ ।
भैरहवाको शनिबारको अधिकतम तापक्रम १७.०, न्यूनतम तापक्रम १२.८ र आजको ११.९ डिग्री सेल्सियस रहनेछ ।
सिमराको शनिबारको अधिकतम तापक्रम १५.६, न्यूनतम १३.४, आजको न्यूनतम तापक्रम १०.६ डिग्री सेल्सियस रहनेछ ।
जनकपुरको अधिकतम तापक्रम १९.६, न्यूनतम १४.५, आजको १२.६ डिग्री सेल्सियस रहनेछ। विराटनगरको शनिबारको अधिकतम तापक्रम २२.०, न्यूनतम तापक्रम १२.६, आजको १२.६ डिग्री सेल्सियस रहनेछ।
झापा चन्द्रगढीको अधिकतम तापक्रम २४.२, न्यूनतम तापक्रम ११.४ र आजको न्यूनतम तापक्रम १३.० रहनेछ ।
पश्चिमी वायुको प्रभाव देखिए पनि तत्काल कुनै वर्षाको सम्भावना छैन । मौसमविद्का अनुसार आगामी दुई हप्तासम्म पनि वर्षाको सम्भावना नरहेको बताइएको छ । पछिल्लो एक महिनायता मुलुकभर वर्षा मापन नभएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गत मंसिर ५ गते ताप्लेजुङ ताप्लेथोक केन्द्रमा २ मिलिमिटर वर्षा रेकर्ड भएको थियो। त्यसयता एक झर पानी परेको छैन ।
पानी नपरेकाले काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरहरूमा वायु प्रदूषण बढेको छ । वातावरण विभागको वायु गुणस्तर अनुगमन प्रणालीका अनुसार पछिल्लो २४ घन्टामा सुर्खेतको वायु शुद्धता सूचकांक (एक्युआई) १७८, देउखुरी दाङको १५३, काठमाडौंको रत्नपार्कको १४७, भक्तपुरको १४६, खुमलटारको ११७ पुगेको छ ।
वायु शुद्धता सूचकांकअनुसार ०–५० अंक स्वस्थ, ५१ देखि १०० अंक मध्यम र १०१ देखि १५० अंकसम्म अस्वस्थकर र त्यसभन्दा माथिको अंकलाई घातक मानिन्छ ।


विश्व खबर 


















