काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सुरु हुन ढिलाइ भएको छ । दिउँसो साढे २ बजे बस्ने भनिएको बैठक ४ बजिसक्दा पनि सुरु हुन नसकेको हो ।
यसैबीच कार्यदल बैठक ढिला भएपछि कार्यदलमा रहेका माधव नेपाल पक्षका नेताहरु सिंहदरबारबाट बाहिरिएका छन् । त्यसपछि नेपाल पक्षका सदस्यहरू वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । कार्यदलमा रहेका नेताहरुको आउजाउ चलिरहे कै भएपनि बैठक भने सुरु हुन नसकेको हो ।
बैठकका लागि सिंहदरबार आइसकेका नेपाल पक्षका कार्यदलका सदस्य त्यहाँबाट एकसाथ कोटेश्वरतिर लागेका हुन् । उनीहरु एक घन्टापछि आउने भनेर गएको एक नेताले बताए । ओली पक्षका कार्यदल सदस्यहरु भने सिंहदरबारमै छन् ।
यसअघि शुक्रबार बसेको कार्यदलको बैठकमा सहमति जुटेको र आज औपचारिक घोषणा हुने नेताहरुले दावी गरेका थिए ।
शुक्रबार झण्डै ८ घण्टा सिंहदरबारमा बसेको कार्यदलको बैठकले विवाद निम्त्याएका एजेण्डामा सहमति जुटाएको नेताहरुको थियो ।
कार्यदलका सदस्य एवम् एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार भाषिक शुद्धता लगायतका विषयलाई पूर्णता दिएर टुङ्ग्याउने जानकारी दिएका थिए।त्यस्तै कार्यदल सदस्य गोकर्ण विष्टले पनि लामो छलफलपछि सहमतिमा पुगेको बताएका थिए ।


विश्व खबर 


















