काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पोखराको मानवअधिकार चोकमा गर्ने भनेको एकता सभास्थलमा व्यापारीहरूले विरोध जनाएका छन् । नजिकका व्यापारीहरूले सभाका कारण व्यापारमा असर परेको भन्दै विरोध जनाएका हुन् ।
उनीहरुले पर्चा र पम्प्लेटसहित विरोध जनाएका छन् । गरी खान देऊ भन्ने माग सहित उनीहरुले विरोध जनाएका हुन् ।
पोखराको ट्रेडमलका व्यवसायी नवराज त्रिपाठीले सडकमा सभा आयोजना गर्न दिनेलाई समेत कारबाहीको माग गरेका छन् । उनका अनुसार सडकमा हुने सभाले व्यापार व्यवसाय चौपट भएको छ । धेरै पहिलेदेखि शान्तिपूर्ण रुपमा माग राख्दा समेत सुनुवाइ भएन । अहिले पनि सोही ठाउँमा आन्दोलन र प्रदर्शन भइरहेको छ । यसमा व्यपारीहरुको विरोध छ ।
चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिका अध्यक्ष दुर्गा सुनारले केही रकमका लागि सडक बेचिएको आरोप लगाए । उनले व्यवसायीको ध्यान नदिई कार्यक्रमलाई सडक दिँदा मन्दी खेप्नु परेको बताएका छन्
यसअघि नै महानगरलाई ज्ञापनपत्र बुझाएर त्यस ठाउँमा कार्यक्रम नगरिदिन धेरै पटक आग्रह गरेपनि सुनुवाइ नभएको व्यापारीहरुको गुनासो रहेको छ ।
सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह संयोजक माधवकुमार नेपाल लगायत शीर्ष नेतृत्वले सम्बोधन गर्नेछन् । व्यवसायीले विरोध गरेपछि केही समय नेकपाका कार्यकर्तासँग भनाभन भएको थियो ।























