images
images
  • ३२ तले भवनमा आगलागी हुँदा ४४ जनाको मृत्यु, २७९ जना बेपत्ता

    काठमाडौँ – हङकङको ताइ पो जिल्लास्थित एउटा बहुतले भवनमा आगलागी हुँदा कम्तिमा ४४ जनाको मृत्यु भएको छ। बुधबार दिउँसोदेखि सुरू भएको आगलागीमा हालसम्म ४४ जनाको मृत्यु भइसकेको र २७९ जना अझै सम्पर्कविहीन रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    वाङ फुक कोर्ट भनिने आवासीय क्षेत्रको ३२ तले भवनबाट आगो सल्किएको थियो। त्यसले वरपर रहेको अरू भवनहरूमा समेत आगो फैलिएको छ। सैयौं अग्नियनियन्त्रक र दमकल आगो निभाउने प्रयत्न गरिरिहेको भएपनि १६ घन्टादेखि ती आवासीय क्षेत्रमा आगलागी भइरहेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।

    उद्धारकर्मीहरू अझै जलिरहेका अग्ला अपार्टमेन्ट भवनबाट बासिन्दालाई बाहिर निकाल्ने प्रयासमा जुटिरहेका छन्। आगलागी भएको आवासीय भवनमा करिब २ हजार अपार्टमेन्ट थिए।

    जसमा धेरै वृद्धवृद्धा पनि थिए। ४४ मृतकमध्ये ४० जनालाई घटनास्थलमै मृत घोषणा गरिएको हो भने कम्तीमा ६२ जना घाइते भएका छन्। घाइतेहरूमा गम्भीर जलन र धुवाँ सास फेर्दा भएका समस्या देखिएको छ।

    प्रहरीले आगलागीसँग सम्बन्धित लापरबाही अभियोगमा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरू ५२ देखि ६८ वर्ष उमेर समूहका निर्माण कम्पनीका निर्देशक र एक इन्जिनियरिङ परामर्शदाता हुन्।

    प्रहरीका अनुसार भवनको बाहिरी भागमा प्रयोग भएका केही सामग्रीले आगो प्रतिरोधका मापदण्ड पूरा नगरेको आशङ्का गरिएको छ। साथै एक टावरको प्रत्येक तल्लामा लिफ्ट लबी नजिक अत्यधिक ज्वलनशील स्टाइरोफोम सामग्री फेला परेको प्रहरीले जनाएको छ।

    वरिष्ठ प्रहरी अधिकारी आइलीन चङका अनुसार निर्माण कम्पनीका जिम्मेवार व्यक्तिहरूले गम्भीर लापरबाही गरेको ठोस आधार फेला परेको छ। आगलागी मूलतः एक ३२ तले भवनको बाहिरी बाँसको स्काफोल्डिङबाट सुरु भई तीव्र हावाका कारण अन्य टावरमा फैलिएको अनुमान गरिएको छ।

    हङकङका आगो नियन्त्रण अधिकारीहरूले बिहीबार बिहानसम्म चारवटा भवनको आगो नियन्त्रणतर्फ उन्मुख अवस्थामा पुगेको जनाएका छन्।

    यद्यपि उच्च तापक्रम, झरिरहेका भग्नावशेष र स्काफोल्डिङका कारण उद्धार कार्य अत्यन्त कठिन बनेको छ। करिब ९ सय जनालाई अस्थायी आश्रयस्थलमा सारिएको छ।

    उद्धारका क्रममा एक ३७ वर्षीय अग्निनियन्त्रकको ज्यान गएको छ भने अर्का एक जना तातोका कारण बिरामी परेका छन्। सयौँ फायर फाइटर, प्रहरी र स्वास्थ्यकर्मी परिचालन गरी अग्ला सिँढी ट्रकबाट पानीको फोहोरा हानिँदै आगो निभाउने प्रयास भइरहेको छ। आगलागीलाई स्तर–५ अर्थात् उच्चतम आपतकालीन स्तरमा राखिएको छ।

    आगलागी घटनाप्रति सी चिनफिङलेले दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् र क्षति न्यूनिकरणका लागि सबै प्रयास गर्न निर्देशन दिएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images