काठमाडौं– इन्डोनेसियाको राजधानी जकार्ताको पश्चिममा रहेको एक मिठाई उत्पादन गर्ने कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन् ।
स्थानीय उद्धार अधिकारीका अनुसार शनिबार दिउँसो सेराङ जिल्लास्थित फोनुसा अगुङ मुलिया कारखानामा आगलागी भएको हो ।
उक्त स्थान राजधानी जकार्ताबाट करिब ५० किलोमिटर पश्चिममा पर्दछ ।
आगलागीमा परी चार जना घाइते भएका छन् ।
उनीहरूलाई नजिकैको अस्पताल तथा स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको उद्धार अधिकारी रिज्की द्वियान्तोले जानकारी दिए ।
उहाँका अनुसार बेपत्ताहरूको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ ।
उद्धार कार्यमा संलग्न कर्मचारीको सुरक्षालाई प्राथमिकता दिँदै खोजी तीव्र पारिएको उनले बताए ।
आगलागीबाट कारखानाको ठूलो भाग ध्वस्त भएको छ ।
भवनको छाना केही स्थानमा भत्किएको छ भने घटनास्थलबाट अझै धुवाँ निस्किरहेको दृश्य सार्वजनिक भएका छन् ।
स्थानीय अग्नि नियन्त्रण अधिकारी टुबागुस मचफुज्दका अनुसार शनिबार अपराह्न ४ः३० बजे आगलागीको सूचना प्राप्त भएको थियो ।
दमकल घटनास्थल पुग्दा भवनको ठूलो भाग आगोको चपेटामा परिसकेको थियो ।
बान्तेन प्रान्तका गभर्नर आन्द्रा सोनीले आगलागी हुँदा कारखानाभित्र करिब ६० जना रहेको अनुमान गरिएको बताएका हुन् ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको स्थानीय विपद् व्यवस्थापन निकायले जनाएको छ ।
इन्डोनेसियामा औद्योगिक तथा भवनमा हुने आगलागीका घटना यसअघि पनि भएका छन् ।
गत वर्ष डिसेम्बरमा जकार्ताको साततले भवनमा आगलागी हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको थियो ।
सन् २०२३ मा निकेल प्रशोधन कारखानामा भएको विस्फोटमा १३ जनाको ज्यान गएको थियो ।






















