काठमाडौँ – गत २३–२४ भदौको जेनजी आन्दोलन भड्काउने टिओबी (तिब्बती ओरिजिनल ब्लड) समूहमा आबद्ध तेन्जिङ दावाबाहेक अन्य सबै युवा नेपाली रहेको खुलेको छ । प्रहरीले उनीहरूलाई भने पक्राउ गरेको छैन ।
तर, उनीहरूले प्रयोग गर्ने १४ वटा मोटरसाइकल बरामद गरेको छ । जिल्ला प्रहरीपरिसर काठमाडौंका अनुसार समूहका अध्यक्ष दावा हुन् । समूहमा दावासहित ५७ युवा आबद्ध छन् । उनै युवालाई दावाले २३ भदौको जेन–जी आन्दोलनमा उतारेका थिए । उनीहरूका लागि टिओबी अंकित कालो रंगको टिसर्ट दावाले नै बेचेका थिए ।
यस प्रयोजनका लागि दावाले युवासँग प्रतिटिसर्ट सात सयमा किनेर एक हजार रुपैयाँमा बेचेका थिए । युवाका लागि दावाले ज्योकट पनि डिजाइन गरेका थिए । दुई हजार ५०० रुपैयाँमा खरिद गरिएको ज्याकेट लोगो अंकित गरेपछि प्रतिज्याकेट तीन हजार रुपैयाँ असुलेर युवालाई बेचेका थिए ।
आइतबार काठमाडौंपरिसरमा गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता एसपी पवन भट्टराईले टिओबी समूहमा संलग्न दावाबाहेक सबै युवा नेपाली रहेको बताए । ‘टिओवी समूहका अध्यक्ष तेन्जिङ दावा हुन् । समूहमा दावासहित ५७ युवा सहभागी भएको देखिन्छ । दावाबाहेक सबै युवा नेपाली हुन् । उनीहरूले लगाएको टिसर्ट र ज्याकेट दावाले नै डिजाइन गरी बेचेको देखिन्छ । उनीहरूलाई दावाले आन्दोलनमा उतारेको अनुसन्धानबाट देखिएको छ,’ उनले भने ।
प्रहरीका अनुसार टिसर्ट र ज्याकेटमा अंकित टिओबीको लोगो दावाले नै डिजाइन गरेका हुन् । दावा नेपाली र्यापर हाकिम भनिने सुरेन्द्र गुरुङबाट प्रभावित थिए । लोगोमा उल्लेखित ‘हाकिम’ उनैको नाम रहेको प्रहरीको भनाइ छ । लागोको दायाँ–बायाँ ड्रयागन र माथि फूलको चित्र अंकित छ । ड्रयागनको अर्थ वारियर (योद्धा) र फूलको अर्थ शान्ति रहेको प्रहरीको भनाइ छ ।
‘टिओबीको लोगोमा ड्रयागन, फूल र हाकिम उल्लेख छ । ड्रयागनको अर्थ वारियर र फूलको अर्थ शान्ति रहेछ । दावा हाकिम भनिने नेपाली र्यापरबाट प्रभावित रहेछ । त्यसो हुँदा लोगोमा उनैको नाम लेखेको रहेछ । दावाका साथै समूहमा आबद्ध अन्य युवाले पनि त्यही बयान दिएका छन्,’ एसपी भट्टराईले भने ।























