काठमाडौँ – जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकार र प्रमुख दलहरूबीच आपसी विश्वास र समन्वयको अभाव देखिएकै वेला प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्ने भएकी छन् ।
२१ फागुनको निर्वाचनमा जुटेकी प्रधानमन्त्री कार्की यसै साता प्रमुख तीन दलका शीर्ष नेता कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने तयारीमा छिन् ।
जेन–जी आन्दोलनपछि सत्ताबाट विस्थापित र जेन–जी युवाको आक्रोशमा परेका शीर्ष नेता र प्रधानमन्त्रीबीच संवाद नहुँदा २१ फागुनको निर्वाचनलाई लिएर अझै संशय छन् ।
पहिलो चरणमा तीनैजनालाई संयुक्त भेट्ने योजना छ । तर, मिति निश्चित भएको छैन । मंगलबार आमन्त्रण–पत्र पठाइयो भने यो हप्ता भेटघाट हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएका छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार २१ फागुनको निर्वाचनका लागि विश्वासको वातावरण बनाउन तीन नेतासँग छलफल गर्न लागिएको हो । सबै परिस्थिति सामान्य बन्दै गएको र निर्वाचनको माहोल पनि बनिरहेका वेला दलहरूलाई एक ठाउँमा ल्याउन प्रधानमन्त्रीले छलफलको अग्रसरता लिएकी हुन् । खास गरेर एमालेले संवैधानिक हैसियत र चुनावी वातावरणलाई लिएर सरकार तथा प्रधानमन्त्री कार्कीको कठोर आलोचना गर्दै आएको छ ।
प्रमुख तीन दलका नेताले प्रधानमन्त्रीले छलफल नगरेको भन्दै गुनासो गर्दै आएका छन् । तीन नेतापछि अन्य दलका अध्यक्षसँग पनि छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


विश्व खबर 




















