काठमाडौँ – पश्चिम नवलपरासी जिल्लाका साप्ताहिक हाटबजारहरूमा बिक्री हुने तरकारी, फलफूल तथा अन्य खाद्य सामग्रीहरूमा विषादी ९केमिकल० को अनियन्त्रित प्रयोग भइरहेको भन्दै साप्ताहिक हाट बजार व्यवसायी सङ्घ, नवलपरासीले परीक्षणको माग गरेको छ । उपभोक्ताको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै सङ्घले बिहीबार औपचारिक रूपमा जिल्ला प्रशासन कार्यालयलाई गुणस्तर परीक्षणको व्यवस्था मिलाउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापन पत्रमा तरकारी तथा फलफूलमा अनियन्त्रित रूपमा विषादी प्रयोग हुँदा उपभोक्ताको स्वास्थ्य जोखिम चुलिएको उल्लेख छ ।
यस्ता विषादी प्रयोगले क्यान्सर, पेटका रोग, छाला रोग, आँखा दुख्ने, कलेजो तथा मुटुसम्बन्धी जटिल समस्या देखिने खतरा हुने भएकाले परीक्षणको माग गरेको ज्ञानपत्रमा उल्लेख छ । सङ्घका अनुसार हाटबजारमा बिक्री हुने धेरै प्रतिशत तरकारी तथा फलफूलमा विषादीको मात्रा स्वीकृत सीमाभन्दा धेरै माथि रहेको भन्दै उपभोक्ताबाट लगातार गुनासो आइरहेको छ । तरकारीमा प्रयोग हुने रासायनिक पदार्थहरू सामान्य धुने, भिजाउने वा पकाउने प्रक्रियाबाट पनि नहट्ने भएकाले स्वास्थ्य जोखिम अझ बढ्ने खतरा औंल्याइएको छ ।
सङ्घका अनुसार झन्डै एक सयभन्दा बढी प्रकारका विषादात्मक रासायनिक पदार्थहरू तरकारी तथा फलफूलमा प्रयोग भइरहेको पाइएको छ, जसले मानिसको शरीरमा दीर्घकालीन असर पार्नेछ ।
सङ्घले उपभोक्ताको स्वास्थ्य सुरक्षा र खाद्य सुरक्षाको सुनिश्चितताका लागि तत्काल कदम चाल्न माग गर्दै सम्बद्ध निकायसँग विषादीको सर्वेक्षण, निगरानी र तत्काल गुणस्तर परीक्षणको व्यवस्था गर्न स्थानीय तहसँग माग गरेको छ ।























