काठमाडौं– चालु आर्थिक वर्षको पहिलो तीन महिनामा (असोज मसान्त) बिन्दुगत उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशतमा सीमित भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहको मूल्य २.५४ प्रतिशतले घटेको छ, जसले भान्सा खर्च सस्तो भएको संकेत गर्छ ।
गैरखाद्य तथा सेवा समूहमा भने मूल्य ३.८० प्रतिशतले बढेको छ ।
कम मुद्रास्फीति समग्र अर्थतन्त्र सुस्त भएको संकेत मानिन्छ ।
अघिल्लो वर्ष सोही अवधिमा खाद्य समूह ७.२० प्रतिशत र गैरखाद्य समूह ३.४९ प्रतिशतले महँगो भएको थियो ।
पहिलो त्रैमासको औसत मुद्रास्फीति १.६७ प्रतिशत छ, जुन अघिल्लो वर्षको ४.२६ प्रतिशतभन्दा निकै कम हो ।
खाद्य समूहभित्र घ्यू–तेल ७.७५ प्रतिशत, गैरमदिराजन्य पेय पदार्थ ३.७१ प्रतिशत र मासु ३.१५ प्रतिशतले बढेका छन् ।
तरकारी १५.६३ प्रतिशत, मसला ७.८२ प्रतिशत र दाल–गेडागुडी ४.४१ प्रतिशतले सस्तिएका छन् ।
गैरखाद्य समूहमा विविध वस्तु तथा सेवा १५.५१ प्रतिशत, शिक्षा ७.६७ प्रतिशत, कपडा–जुत्ता ६.२९ प्रतिशत, सुर्तीजन्य पदार्थ ४.८४ प्रतिशतले महँगिएका छन् ।
फर्निसिङ तथा उपकरण ४.५५ प्रतिशतले बढेको छ भने बीमा तथा वित्तीय सेवा ०.२३ प्रतिशतले घटेको छ ।
यस अवधिमा ग्रामीण क्षेत्रमा मुद्रास्फीति १.२९ प्रतिशत र शहरी क्षेत्रमा १.५३ प्रतिशत रहेको छ ।
प्रदेशगत रूपमा कोशी २.३३ प्रतिशत, मधेश १.२०, बागमती १.१३, गण्डकी १.१६, लुम्बिनी १.८९, कर्णाली १.९१ र सुदूरपश्चिम ०.६९ प्रतिशत मुद्रास्फीति देखिन्छ ।
भौगोलिक क्षेत्रअनुसार काठमाडौं उपत्यकामा १.४३, तराईमा १.२९, पहाडमा १.५० र हिमाली क्षेत्रमा २.३३ प्रतिशत मुद्रास्फीति रहेको छ ।


विश्व खबर 




















