images
images
  • मंसिरका लागि घट्यो ब्याजदर, १० बैंकले घटाएनन् किन ?

    काठमाडौं– मंसिर महिनाका लागि वाणिज्य बैंकहरूको औसत ब्याजदर कात्तिकको तुलनामा झन् घटेको छ ।

    २० वाणिज्य बैंकले सार्वजनिक गरेको दरसूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.१६० प्रतिशत बिन्दुले तल झरेर कात्तिकको ५.२००५ प्रतिशतबाट मंसिरमा ५.०४०५ प्रतिशतमा पुगेको छ ।

    व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर भने ६ प्रतिशतमै यथावत छ, जसमा ग्लोबल आइएमइ बैंकले ३ वर्ष वा सोभन्दा बढी अवधिका लागि सबैभन्दा धेरै ६ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ ।

    मंसिरमा १० बैंकले ब्याजदर स्थिर राखे भने १० बैंकले घटाए, जसका कारण औसत दरसमेत घटेको हो ।

    दर घटाउनेमा एनआईसी एसिया, प्राइम, स्ट्यान्डर्ड चार्टर्ड, नबिल, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स छन् ।

    स्थिर राख्नेमा कृषि विकास, एभरेस्ट, नेपाल, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, ग्लोबल आइएमइ, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी पर्छन् ।

    छोटो अवधिमा ब्याज कम र लामो अवधिमा अलि बढी दिने प्रवृत्ति यथावत छ, विशेषगरी ५ वर्षभन्दा माथिका मुद्दतीमा उच्च दर रहनेछ ।

    व्यक्तिगत मुद्दतीको दर घटेपछि बचत तथा संस्थागत निक्षेपकै ब्याजदर पनि झर्दै जाने र अन्ततः कर्जाको ब्याजदर समेत कम हुने बैंकर्स बताउँछन् ।

    लगानीयोग्य रकम प्रशस्त भए पनि कर्जा विस्तार सुस्ते हुँदा बैंकहरू ब्याजदर तल झार्दै गएका हुन् ।

    राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि स्थायी निक्षेप सुविधा, निक्षेप संकलन लगायतका उपकरणमार्फत बैंकबाट रकम सोस्ने कार्य गर्दै आएको छ ।

    हाल नीतिगत दर ४.५ प्रतिशत, स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images