काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंकिङ प्रणालीमा पैसा (तरलता) अत्यधिक भएर पनि लगानी नहुने अवस्था सिर्जना भएको बताएका छन् ।
बुधबार पत्रकारहरूसँगको छलफलमा उनले भने, “अहिले हामीसँग पर्याप्त पैसा छ तर लगानी हुन सकेको छैन । पैसा धेरै हुँदा पनि समस्या हुने रहेछ ।”
राष्ट्र बैंकका तथ्यांकअनुसार बैंकहरूको निक्षेप ७५ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ, तर कर्जा प्रवाह ५६ खर्ब ४३ अर्ब रुपैयाँमै सीमित छ ।
सीडी रेसियो करिब ७४.४२ प्रतिशतमा झरेको छ ।
केन्द्रीय बैंकका अनुसार हाल बैंकिङ प्रणालीमा ११ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य तरलता ‘होल्ड’ अवस्थामा छ, तर बजारमा कर्जाको माग नहुँदा सो पुँजी प्रयोग हुन सकेको छैन ।
गभर्नर पौडेलका अनुसार लगानीका प्रमुख क्षेत्रहरू, जस्तै बैंक, बीमा, रियलइस्टेट, शिक्षा, स्वास्थ्य, र टेलिकम सबै सुस्त छन् ।
“पहिले पैसा नभएर समस्या हुन्थ्यो, अहिले पैसा धेरै भएर समस्या भएको छ,” उनले भने ।
यसबीच, निजी क्षेत्रका प्रतिनिधिहरूले राष्ट्र बैंकको चालु पुँजी कर्जा मार्गदर्शनलाई लगानी नबढ्नुको मुख्य कारण ठहराएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले यो नीतिले निजी क्षेत्रको मनोबल कमजोर बनाएको दाबी गर्दै भने, “लगानीमा आकर्षण नहुनुको कारण यही मार्गदर्शन, सूक्ष्म निगरानी र कालोसूची व्यवस्था हो ।”
ढकालका अनुसार कोभिड–१९ पछि अर्थतन्त्र उठ्न नपाउँदै तत्कालीन गभर्नर डा. महाप्रसाद अधिकारीले कर्जामा कडाइ गरेकाले आज बैंकमा पैसा थुप्रिने अवस्था बनेको हो ।
उनले नीतिगत परिमार्जन र निजी क्षेत्रसँग सहकार्यको माग गरे ।
जेन–जी आन्दोलनले देशको आर्थिक वातावरण झनै अस्थिर बनाएको उल्लेख गर्दै ढकाल र उद्योगी शेखर गोल्छाले लगानीकर्ताको मनोबल पुनःस्थापना गर्न सरकार–निजी क्षेत्रबीच विश्वास पुनर्निर्माण अपरिहार्य भएको बताएका छन् ।
विश्व बैंकले पनि हालैको प्रतिवेदनमा नेपालको आर्थिक वृद्धिदर सन् २०२६ मा घटेर २.१ प्रतिशतमा सीमित हुने चेतावनी दिएको छ ।
गभर्नर पौडेलका अनुसार, “वृद्धिको बाटो लगानी पुनःसक्रियता र निजी क्षेत्रको आत्मबलमा निर्भर छ ।”


विश्व खबर 




















