images
images
  • प्रहरी भावी महानिरीक्षक बन्न आरोपको घृणित खेल : सक्षम चुपचाप, दोहोरो चरित्रका नायक फर्जी आरोप लेखाउन व्यस्त

    नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) चन्द्रकुवेर खापुङ्ग यही कात्तिक २७ गते राति १२ बजेपछि अर्थात आजको चार दिनपछि अनिवार्य अवकाशमा जाँदैछन् । खापुङ्ग अवकाशमा जाने दिन नजिकिएसँगै नयाँ आइजीपीको चर्चा सुरु भएको छ । आइजीपी बन्ने दौडमा रहेका एआईजीहरुमध्ये पछिल्लो बढुवा हुँदा रोलक्रममा क्रमशः दानबहादुर कार्की, डा मनोज केसी, राजन अधिकारी र सिद्धिविक्रम शाह छन् । यी चार जना मध्ये मुख्यतः आईजीपीका प्रतिस्पर्धी कार्की, केसी र अधिकारी हुन् ।

    जानकारका भनाइमा शाह यो ‘रिङ’ बाट बाहिर परिसकेका छन् । किनभने एक– उनी कार्की, केसी, अधिकारीभन्दा पछि बढुवा भएका हुन् । दुई– उनी राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा छिरेको भन्ने धब्बा छ । तेस्रो– जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुख हुँदा आफू विरोधी कित्तामा उभिएको आरोपमा पत्रकारलाई फसाउन मोटरसाइकलमा लागूऔषध हालेर राख्न लगाएको छानबिनबाट पुष्टि भएको थियो । पत्रकारको मोटरसाइकलमा आफैँले लागूऔषध राख्न लगाएर फसाउन खोज्ने पात्र आइजीपी भए उनले निर्दोषलाई कति न्याय देलान् ?

    मन्त्रिपरिषद्ले भावी महानिरीक्षकको निर्णय गर्ने समय नजिकिदै गर्दा प्रतिस्पर्धाको मैदानमा रहेका डा. मनोज केसी र राजन अधिकारी विरुद्ध केही सञ्चार माध्यमहरुले हिलो छ्याप्ने अर्थात आरोप थोपर्ने कार्य तीव्र बनेको छ । जो स्वस्थ प्रतिस्पर्धाका लागि राम्रो परम्परा होइन । उनीहरुविरुद्ध केही सञ्चार माध्यमहरुलाई प्रतिस्पर्धाको मैदानमा रहेका अर्का एआईजी दानबहादुर कार्कीले परिचालन गरेका जानकारको भनाइ छ । स्यंमसिद्ध तथ्य के हो भने केसी र अधिकारीमाथि आरोपको वर्षा गराउँदा त्यसको फाइदा कार्कीलाई हुनेछ । जसलाई स्वार्थ प्रेरित समाचार भनिन्छ ।

    सञ्चार माध्यमहरुले आरोप प्रमाणित नगरी समाचार लेख्दा–लेखाइँदा निडर र निष्पक्ष छवी बनाएकाहरुमाथि गम्भीर चोट त पुग्छ नै, ‘धान खाने मुसो, चोट पाउने बिरालो’ उखान लागु हुनेछ । यसबेला डा. केसीलाई कांग्रेस र अधिकारीलाई एमाले निकट भनेर लखेटिदै छ । जगजाहेर छ, जेनजी आन्दोलनको ज्वारभाटाबाट बनेकी प्रधानमन्त्री शुशीला कार्की र गृह मन्त्री ओमप्रकाश अर्याल कांग्रेस, एमाले रुचाउँदैनन् । त्यसैले उनीहरुलाई कांग्रेस, एमाले करार गर्न खोजेको देखिन्छ । तर, रोचक के भने तथ्यहरुले उनीहरु कांग्रेस, एमाले भएको पुष्टि गर्दैन ।

    बरु त्यस विपरित कांग्रेस, रास्वपा र एमाले अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई दानबहादुर कार्कीले नै प्रभावमा पारेको देखिन्छ । त्यो कसरी भने बालकृष्ण खाँड गृह मन्त्री भएका बेला कार्की एसएसपीमा एक नं. मा बढुवा भएका थिए । नेपाल प्रहरीका एक जना पूर्वएआईजीका भनाइमा गुल्मीका कार्की र स्याङ्जा, रुपन्देहीका खाँडबीच निकै नै निकट सम्बन्ध छ । खाँड पत्नी मन्जु र कार्की पत्नीबीच उत्तिकै गठिलो मित्रता छ । त्यही मित्रताको प्रभावमा कार्की एक नम्वरमा बढुवा हुन सफल भएका थिए ।

    रवि लामिछाने गृहमन्त्री हुँदा पनि कार्की डिआईजीमा एक नम्बरमा बढुवा भए । लामिछानेलाई प्रभावमा पारेरै कार्की एक नं. मा बढुवा हुन सकेका स्रोतको भनाइ छ । केपी ओली प्रधानमन्त्री र रमेश लेखक गृहमन्त्री भएका बेला कार्की एआईजीमा समेत एक नम्बरमा बढुवा हुन सफल भए । यहाँ पनि निष्पक्ष कार्य सम्पादन मूल्यांकनभन्दा निकटताले नै काम गरेको जानकारहरु बताउँछन् । अहिले गृह मन्त्री अर्याल र कार्की दुवै गुल्मी पुर्ख्यौली थलो भएका हुनुले धेरथोर काम गरिरहेको स्रोतका भनाइ छ ।

    उता कांग्रेस भनेर दोषारोपण गरिएका डा. केसी भने नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँडलाई पक्रन काठमाडौंको मैजुबहालमा आफैँ पुगेका थिए । पक्राउका क्रममा खाँडले केसीलाई कडा धम्की समेत दिएका थिए । स्रोतका अनुसार अधिकारीलाई एमाले भनेर लगाईको आरोपमा पनि सत्यता छैन । उनी एमाले हुन्थे भने केपी ओली प्रधानमन्त्री भएका बेला एआईजीमा एक नं. मा बढुवा हुने थिए । नकि कार्की हुन्थे ।

    २३ भदौमा जेनजी आन्दोलन सुरु हुने बिहान कार्कीले उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौंको ‘कमाण्ड’ सम्हालेका थिए । त्यसको भोलिपल्ट २४ भदौमा रानीपोखरीबाट मात्र पाँच सय थान बढी हतियार लुटिदा जोगाउन नसकेको आरोप कार्कीमाथि छ । जानकारका अनुसार प्रहरी प्रधान कार्यालय नक्सालमा भएको एउटा बैठकमा चन्द्रकुबेर खापुङले सेनामा हुन्थ्यो भने कोर्टमार्शल हुन्थ्यो भनेर त्यतिकै भनेका थिएनन् । कार्कीले थुनुवा छाड भनेर भनेर आदेश दिएपछि तिनै थुनुवाले हतियार लुटेका बुझिmएको नेपाल प्रहरीका अर्का उक जना पूर्वएआईजी बताउँछन् ।

    “एआईजी कार्कीमा दोहोरो चरित्र देखाउन सक्ने जुन कला छ, त्यो कला डा. केसी र अधिकारीमा छैन । डा. केसी व्यवसायिक, निडर र इमान्दार प्रहरी अधिकृत हुन् । अधिकारी पनि दोहोरो चरित्र नभएका पात्र हुन्”, ती पूर्वएआईजी भन्छन्, “डा. केसी जस्ता व्यवसायिक र निडर प्रहरी अधिकृत आईजीपी बने प्रहरीको नैतिकता बल उच्च राख्न साथै भ्रष्टाचारी, अपराधीलाई नियन्त्रणमा लिन ठूलो सफलता मिल्ने थियो । तर, अहिले केसी विरुद्ध नै जसरी लेखिदैछ, लेखाइँदै छ, उनलाई आईजीपी बन्न नदिने खेल रच्न खोजिदैछ । जुन निकै विडम्बनापूर्ण छ ।”

    नेपाललाई अन्तराष्ट्रिय बेइज्यत गराएको नक्कली भुटानी शरणार्थी काण्डमा संलग्नहरुलाई कानूनी कठघरामा उभ्याउने नायक हुन् डा. केसी । सिआईबी प्रमुख भइसकेपछि पनि उनले नेपाल ट्रष्टको जग्गा भाडामा संलग्न सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएका छन् भने नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न निराजन भनिने निरञ्जनकुमार खरेललाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images