काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी समानुपातिक उम्मेदवारका लागि आवेदन खुला गर्दै ५० हजार रुपैयाँ शुल्क तोकेको छ ।
पार्टीले २२ कात्तिकदेखि आवेदन खुला गरेको हो ।
निर्वाचन आयोगको प्रारम्भिक तालिका अनुसार बन्द सूची पेस गर्ने मिति पुस १८–१९ तोकिएको छ ।
सहमहामन्त्री विपीन आचार्यको नेतृत्वमा बनेको समितिले कानुनी प्रावधानअनुसार उम्मेदवार छनोटका मापदण्ड तय गरेको छ ।
आचार्यका अनुसार वैध आयस्रोत, सार्वजनिक पदको दुरुपयोग नगरेको स्वघोषणा, र द्वेषपूर्ण गतिविधिमा संलग्न नभएको प्रमाण अनिवार्य हुनेछ ।
रास्वपाले अघिल्लो चुनावमा समानुपातिकतर्फ उम्मेदवार बनेकालाई यसपटक पुनः अवसर नदिने निर्णय पनि गरेको छ ।
पार्टीले उम्मेदवार छनोटका लागि लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी र अंकाधारित मूल्यांकन प्रणाली अवलम्बन गर्ने बताएको छ ।
बन्द सूचीमा परे पनि अन्ततः सांसद नबन्ने उम्मेदवारलाई शुल्क फिर्ता नहुने प्रावधान राखिएको छ ।
आवेदन अनलाइन वा भौतिक रूपमा दुवै माध्यमबाट पेस गर्न सकिने र अन्तिम मिति पार्टीको बैठकले तय गर्ने जनाएको छ ।























