काभ्रेपलाञ्चोक– मेलम्ची खानेपानी आयोजनाबाट पानी पथान्तरण चार दिनदेखि रोकिएको छ ।
आफ्ना मागहरू कार्यान्वयन नभएको भन्दै स्थानीयवासीले गत शुक्रबारदेखि हेलम्बु–१, अम्बाथानस्थित सुरुङ बन्द गरेका हुन्।
मेलम्ची बाढीपीडित संघर्ष समिति, स्थानीय दल र बासिन्दाले माग पूरा नभएसम्म पानी नखोल्ने चेतावनी दिएका छन् ।
उनीहरूले ०८१ असोज २१ गते तत्कालीन खानेपानी मन्त्री प्रदीप यादव र सचिव प्रमिलादेवीबीच भएको १० बुँदे सम्झौता कार्यान्वयन नभएकाले बाध्य भएर आन्दोलनमा उत्रिएको बताएका छन् ।
आइतबार सिंहदरबारमा खानेपानी सचिव प्रमिलादेवीको संयोजकत्वमा छलफल भए पनि निष्कर्ष ननिस्किएको र प्रधानमन्त्री तथा अर्थमन्त्रीसँगको बैठकपछि सोमबार पुनः वार्ता हुने जनाइएको छ ।
स्थानीयका प्रमुख मागहरूमा मेलम्ची आयोजनाको खर्च सार्वजनिक गर्नुपर्ने, मेलम्ची–आम्बाथान–घ्याङ सडक कालोपत्रे गर्नुपर्ने, आयोजनाबाट उठ्ने आम्दानीको २५ प्रतिशत पीडित क्षेत्रलाई दिने व्यवस्था गर्नुपर्ने, र स्थानीयलाई १५ प्रतिशत रोजगारीको कोटा सुनिश्चित गर्नुपर्ने समावेश छन् ।
त्यसैगरी बाढीपीडितहरूको यथोचित अनुगमन र राहतको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ ।
संघर्ष समितिका अनुसार, मागहरू पूरा गर्न पानी रोक्नु रहर होइन, बाध्यता हो, र उपत्यकावासीले यो असुविधा बुझिदिन आग्रह गरिएको छ ।























