काठमाडौं– संसद् पुनःस्थापनाका लागि एमाले र कांग्रेस दुवैले तयारी तीव्र पारेका छन् ।
सर्वोच्च अदालतमा भएको प्रारम्भिक बहसपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा सांसदका तर्फबाट रिट दर्ता गर्ने तयारी सुरु भएको हो ।
यसैबीच कांग्रेसका तत्कालीन सांसद श्यामकुमार घिमिरेले पनि सभापति शेरबहादुर देउवाको निर्देशनमा पुनःस्थापनाको समर्थनमा हस्ताक्षर अभियान थालेका छन् ।
घिमिरेका अनुसार आइतबारसम्म ३५ सांसदले हस्ताक्षर गरिसकेका छन् ।
उनीहरूका अनुसार संसद् विघटन असंवैधानिक भएकाले पुनःस्थापना आवश्यक छ ।
पार्टी केन्द्रीय सदस्य दीपक गिरीका अनुसार संविधान संशोधन र जेन्जी आन्दोलनका माग सम्बोधन गर्न पनि संसद् पुनःस्थापना अपरिहार्य छ ।
तर, कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले भने निर्वाचनमार्फत नै निकास खोज्नुपर्ने धारणा राखेका छन् ।
उनका अनुसार अदालतको निर्णय नै अन्तिम हुनेछ ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि रिटका लागि सांसदहरूको हस्ताक्षर संकलन भइरहेको पुष्टि गरे ।
एमाले र कांग्रेसबीच संयुक्त रिट दर्ताबारे छलफल भइरहेको उनले बताए ।
ओलीले पुनःस्थापनापछि संविधान संशोधन, सर्वपक्षीय सरकार र निश्चित अवधिभित्र निर्वाचनको मार्गचित्रसहित ६ बुँदे प्रस्ताव अघि सारेका छन् । त्यसअनुसार संसद् पुनःस्थापना, स्वतन्त्र
नेतृत्वमा सर्वदलीय सरकार र तीन महिनाभित्र चुनाव गर्ने प्रस्ताव गरिएको छ ।
यता एमालेले पुनःस्थापनाको एजेन्डा अघि सारे पनि चुनावी तयारी पनि जारी राखेको छ ।
जनजागरण अभियानमार्फत पार्टीले देशभर संगठन सुदृढीकरण गर्दै ‘डिजिटल जेनेरेसन (डीजी) फोर्स’ गठन सुरु गरेको छ ।
महासचिव शंकर पोखरेल र प्रचार प्रमुख राजेन्द्र गौतमले पुनःस्थापनामार्फत संकट समाधान र आगामी चुनाव दुवैलाई लक्षित अभियान जारी रहेको बताएका छन् ।























